काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्मा परी बेपत्ता भएका २ हजार २९४ नेपाली र १७१ विदेशी नागरिकको विवरण सार्वजनिक गरेको छ। विवरणमा दाबी, थपघट वा संशोधन गर्न प्राधिकरणले सात दिनको समय दिएको छ।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले ‘विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ बमोजिम सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
प्राधिकरणका अनुसार ३२ जिल्लाबाट प्राप्त विवरणमध्ये सबैभन्दा बढी रसुवाका १ हजार ५३८ र सिन्धुपाल्चोकका २१९ जना बेपत्ता सूचीकृत भएका छन्।
त्यस्तै, विदेशी नागरिकतर्फ मलेसिया र युक्रेनका ५४/५४ जना, अस्ट्रेलियाका ३३, रुसका ११, दक्षिण कोरियाका ९, जर्मनीका ८ र इटालीका २ जना रहेका छन्।
सार्वजनिक सूचीमा रहेका व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा निजको एकाघरका परिवारले सात दिनभित्र सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्राधिकरणमा दाबी पेश गर्न सक्नेछन्।
विवरणमा कुनै त्रुटि भएमा प्राधिकरणको इमेल [email protected] वा ९८५१३२०२६९ र ९८४९२८१०९७ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ। विदेशी नागरिकको विवरण सच्याउन भने परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।




प्रतिक्रिया