ADVERTISEMENT

तिहारमा फूलमाला महँगियो, मखमली माला ९० र सयपत्री किलोको ५०० रुपैयाँसम्म

भक्तपुर । तिहार सुरु भएसँगै भक्तपुरमा मखमली र सयपत्री फूलको मूल्य बढेको छ । व्यापारी तथा बिचौलियाबीच किसानको घरदैलोमै पुगेर फूल तथा माला खरिद गर्ने प्रतिस्पर्धा बढेपछि बजारमा मूल्य आकासिएको हो ।

भक्तपुरको गुण्डु, ताथलीलगायत क्षेत्रमा उत्पादित फूलको माग बढेसँगै मखमली मालाको मूल्यसमेत वृद्धि भएको छ । शुक्रबारसम्म किसानबाट प्रतिमाला रु. २२ देखि २५ मा खरिद हुँदै आएको मखमली माला अहिले रु. ३० देखि ३५ मा खरिद हुन थालेको छ । बजारमा भने प्रतिमाला रु. ८० देखि ९० सम्ममा बिक्री भइरहेको छ ।

त्यस्तै, सयपत्री फूलको मूल्य पनि बढेको छ । किसानले प्रतिकिलो रु. ४०० देखि ५०० सम्ममा बिक्री गरिरहेको सयपत्री फूल बजारमा उपभोक्ताले महँगो मूल्य तिरेर किन्नुपरेको छ । मध्यपुरथिमि–५ राधेराधेका पूजा पसल सञ्चालक कमलनाथ पौडेलका अनुसार अहिले सयपत्री फूल प्रतिकिलो रु. ४५० र मखमली माला रु. ७० मा बिक्री भइरहेको छ ।

गुण्डुका किसानले फूलखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । स्थानीयका अनुसार गुण्डुबाट मात्रै वार्षिक रु. पाँच करोडभन्दा बढीको फूल तथा माला उत्पादन र बिक्री हुने गरेको छ । कतिपय किसानले यस वर्ष फूलखेतीबाट रु. तीन लाखसम्म आम्दानी गरेका छन् ।

यस वर्ष लामो समयसम्म परेको झरी र वर्षाका कारण खुला ठाउँमा लगाइएको सयपत्री फूल नष्ट भएपछि बजारमा अभाव भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए । टनेलमा उत्पादन भएको फूल मात्रै बजारमा आउन थालेपछि मूल्य बढेको उनको भनाइ छ ।

तिहारमा फूलमालाको माग बढेसँगै किसानले राम्रो मूल्य पाए पनि व्यापारीले किसानबाट खरिद गरेको मूल्यभन्दा दोब्बरदेखि तेब्बरसम्ममा बिक्री गर्दा उपभोक्ता भने महँगीको मारमा परेका छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार