काठमाडौं । तिहार नजिकिँदै गर्दा नेपालमा ड्राइफ्रुट्स (सुक्खा फलफूल) को आयात बढेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म नेपालमा ३ अर्ब रुपैयाँभन्दा बढीको ड्राइफ्रुट्स आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार तीन महिनामा १४ लाख ५१ हजार किलोभन्दा बढी बोक्रासहितको ओखर, ५ लाख ६ हजार किलोभन्दा बढी बदाम र ४ लाख ६९ हजार किलोभन्दा बढी काजु आयात भएको छ । ओखर मुख्यतः चीन र चिलीबाट, बदाम अमेरिकाबाट तथा काजु भियतनाम र भारतबाट आउने गरेका छन् ।
पछिल्लो समय भुटेको तथा नुनिलो काजु र पिस्ताको मागसमेत बढेको छ । यसका साथै नरिवल, सुपारी, छोकडा र अन्जिरको आयात पनि उल्लेख्य रहेको छ ।
तिहारमा भाइटीकाका दिन दाजुभाइलाई सगुनका रूपमा ड्राइफ्रुट्स दिने परम्परा रहेकाले यसको खपत बढ्ने गरेको छ । तर, हावापानी अनुकूलका फलफूलको व्यावसायिक उत्पादन स्वदेशमै पर्याप्त हुन नसक्दा नेपाल चाडपर्वका बेला विदेशी बजारमा निर्भर रहँदै आएको छ ।




प्रतिक्रिया