कञ्चनपुर । कञ्चनपुरका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याइएका ईभी स्कुटर, पटाका, युरिया मल, सुर्ती, प्याजलगायत अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद सामानमा ईभी स्कुटर, विद्युतीय सामग्री, किराना सामान, पेय पदार्थ, पर्दा र पटाकालगायत छन्। बरामद सामानको कुल भन्सार मूल्य ६ लाख ३७ हजार ६० रुपैयाँ रहेको छ।
विभिन्न सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका टोलीले भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट ती सामान बरामद गरेका हुन्।
बरामद सामानमध्ये १ लाख ५० हजार रुपैयाँ मूल्यको ईभी स्कुटर र अन्य सामग्री आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ। त्यस्तै, दोधारा चाँदनी नगरपालिका–१ को फोरलेन पुल सडकखण्डबाट ३ लाख ७० हजार रुपैयाँ मूल्यका ७ हजार ४०० प्याकेट पटाका बरामद गरिएको छ।
बरामद पटाका नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।




प्रतिक्रिया