काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले पर्यटकलाई तीन दिन पदयात्रा नगर्न आग्रह गरेको छ। सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै विभागले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा पदयात्रा नगर्न पर्यटकलाई सचेत गराएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त तीन दिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको जानकारी गराएपछि अध्यागमन विभागले सतर्कतासम्बन्धी सूचना जारी गरेको हो।
विभागले मंगलबार जारी गरेको सूचनामा उक्त अवधिमा जोखिमयुक्त निषेधित क्षेत्रमा पदयात्रा नगर्न र पदयात्रामा गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
पदयात्राको अनुमति पनि रोकियो
अध्यागमन विभागका अनुसार जोखिम न्यूनीकरणका लागि मंगलबारदेखि नै लागू हुने गरी उक्त अवधिमा निषेधित क्षेत्रमा जाने पदयात्राको अनुमति जारी गरिने छैन।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सम्बन्धित सबै सरोकारवालालाई सूचनाको पालना गर्न र गराउन अनुरोध गरेको छ। सम्भावित प्राकृतिक जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत विभागले आग्रह गरेको छ।
अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले जारी गरेको सूचनामार्फत पर्यटकको सुरक्षा र सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणलाई प्राथमिकता दिइएको जनाइएको छ।
तीन दिन विशेष सतर्कता आवश्यक
भारी हिमपात, हिमआँधी र हिमपहिरोले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा जोखिमपूर्ण बनाउन सक्ने भएकाले पर्यटक तथा पदयात्रासम्बद्ध सबै पक्षलाई सतर्क रहन आग्रह गरिएको छ। जोखिमको पूर्वसूचनालाई बेवास्ता नगर्न र सुरक्षा निर्देशन पालना गर्न विभागले जोड दिएको छ।





प्रतिक्रिया