काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा हाटबजार ठेक्कासम्बन्धी अनियमितता गरी सार्वजनिक सम्पत्तिमा एक करोड ६० लाख रुपैयाँभन्दा बढी हानिनोक्सानी पुर्याएको अभियोगमा तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थारूसहित सात जनाविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालनका लागि लगाइएको ठेक्कामा अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको पाइएको छ।
मुद्दा दायर गरिएकामा तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादव छन्।
प्रतिस्पर्धाविनै ठेकेदारलाई जिम्मेवारी
अख्तियारको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाले वडा नम्बर ६ र ७ अन्तर्गतका पशु, बाख्रा तथा गुदरी हाटबजार सञ्चालनबापत राजस्व संकलन गर्ने जिम्मेवारी वडा नम्बर ८ का ठेकेदार वीरेन्द्र कुमार यादवलाई अमानतमा दिएको थियो।
नगरपालिकाको २०७८ साउन ४ गते बसेको कार्यपालिका बैठकले ठेकेदारले बुझाउनुपर्ने राजस्वमध्ये २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।
स्थानीय तहमा कर छुट दिनुपर्ने अवस्था उत्पन्न भएमा नगरसभाबाट मात्रै त्यस्तो निर्णय गर्न सकिने व्यवस्था रहे पनि कार्यपालिकाबाटै राजस्व छुट दिने निर्णय गरिएको अख्तियारको भनाइ छ।
असुल गर्नुपर्ने राजस्वसमेत उठाइएन
त्यसैगरी, २०७८ साउन १४ गतेको कार्यपालिका बैठकबाट प्रतिस्पर्धा नगराई सोझै अमानतमा ठेकेदारलाई हाटबजार सञ्चालनको जिम्मेवारी दिने निर्णय गरिएको अख्तियारले जनाएको छ।
ठेकेदारबाट असुल गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने रकमसमेत असुल नगरिएको आयोगको आरोप छ।
सार्वजनिक राजस्व संकलन र ठेक्का व्यवस्थापनमा अपनाउनुपर्ने कानुनी प्रक्रिया उल्लंघन गरी निर्णय गरिएको तथा नगरपालिकालाई आर्थिक हानिनोक्सानी पुर्याइएको निष्कर्षसहित अख्तियारले सम्बन्धित पदाधिकारी र ठेकेदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।




प्रतिक्रिया