काठमाडौं । इरानले आफ्ना सर्त पूरा नभएसम्म होर्मुज जलडमरूमध्य नखोल्ने अडान दोहोर्याएको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार आवश्यक सर्त पूरा भए सात दिनभित्र जलडमरूमध्य खोलेर सामान्य समुद्री आवतजावत सुरु गर्न सकिने प्रस्ताव अमेरिकासमक्ष राखिएको छ।
इरानले मध्यपूर्वमा जारी सैन्य गतिविधि रोक्नुपर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, इरानी तेल निर्यातमाथिका प्रतिबन्ध खुकुलो पार्नुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ। साथै यसअघि असफल भएको युद्धविराम समझदारीका सर्त कार्यान्वयन गर्नुपर्ने माग पनि इरानको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको सातदिने प्रस्ताव अस्वीकार गरेको बताएका छन्। यद्यपि इरानले अमेरिकी पक्षको औपचारिक जवाफ अझै मध्यस्थकर्तामार्फत प्राप्त नभएको जनाएको छ।
इरानका अनुसार प्रारम्भिक प्रक्रिया चारदेखि पाँच दिनमा पूरा गरी छैटौं दिनमा होर्मुज खोल्ने र सातौं दिनदेखि आणविक कार्यक्रमलगायत विषयमा अमेरिकासँग वार्ता अघि बढाउने योजना छ।
विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्यमा अवरोध कायम रहे तेल ढुवानी, ऊर्जा लागत र अन्तर्राष्ट्रिय बजारमा दबाब बढ्न सक्ने चिन्ता छ। पछिल्लो घटनाक्रमले होर्मुज पुनः खोल्ने विषय अमेरिका–इरान तनावसँगै विश्व ऊर्जा सुरक्षासँग पनि जोडिएको छ।


प्रतिक्रिया