ADVERTISEMENT

पहिरो हटेपछि नारायणगढ–मुग्लिन सडक खुल्यो, पृथ्वी राजमार्गका ११ स्थानमा अवरोध


चितवन । नाम्सीखोलामा खसेको लेदोसहितको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण आइतबार बिहान ७ः५५ बजे अवरुद्ध भएको सडक दिउँसो १२ः१५ बजेदेखि सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो हटाएपछि नारायणगढबाट पोखरा तथा पोखराबाट नारायणगढतर्फ जाने सवारीसाधन सञ्चालनमा आएका छन्।

यसैबीच, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। केही स्थानमा एकतर्फी यातायात सञ्चालन भए पनि अधिकांश स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ।

शीलतबजार, बेनिघाट, कृष्णभीर, चौकीभीर, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारालगायत क्षेत्रमा पहिरो खसेको सडक आयोजना पश्चिमखण्डले जनाएको छ। फिस्लिङ आसपास करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ भने धारापानीमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ।

सडक आयोजना र निर्माण कम्पनीका उपकरण तथा जनशक्ति परिचालन गरी विभिन्न स्थानमा एकैपटक पहिरो पन्छाउने काम भइरहेको छ। ठूलो पहिरो नखसेमा पृथ्वी राजमार्गको अवरुद्ध खण्ड पनि आइतबार साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

लगातार वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम कायमै रहेको भन्दै सडक आयोजनाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार