काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेख्य बढेको छ। भन्सार विभागका अनुसार साउन र भदौमा २ हजार ८३४ वटा ईभी कार, जीप तथा भ्यान नेपाल भित्रिएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा ४८६ वटा ईभी आयात भएकोमा यस वर्ष आयात ४८३ प्रतिशतले बढेको हो। चालु आवको दुई महिनामा ईभी आयातमा ६ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको छ भने सरकारले ४ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
यस अवधिमा चीनबाट सबैभन्दा धेरै १ हजार ७४५ वटा ईभी आयात भएका छन्। भारतबाट ७३९, थाइल्याण्डबाट ३४८ र अमेरिकाबाट २ वटा ईभी नेपाल भित्रिएका छन्।
रकमका आधारमा चीनबाट ४ अर्ब २६ करोड, भारतबाट १ अर्ब ४२ करोड, थाइल्याण्डबाट १ अर्ब र अमेरिकाबाट ७८ लाख रुपैयाँ बराबरका ईभी आयात भएका छन्।
व्यवसायीहरूका अनुसार साउनको अन्तिम साता भएको नाइमा मोबिलिटी एक्स्पो र भदौ ९ देखि १४ गतेसम्म आयोजना भएको नाडा अटो शोले ईभीको माग बढाउन योगदान गरेको छ। चाडपर्व नजिकिँदै गर्दा सवारीसाधनको माग बढ्ने अपेक्षासँगै व्यवसायीले आयात बढाएको बताइएको छ।




प्रतिक्रिया