काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूमा कर्जा विस्तार र नाफा बढे पनि कर्जाको गुणस्तरमा भने दबाब बढेको छ। नेपाल राष्ट्र बैंकको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा (एनपीएल) एक वर्षमा ६३.८३ प्रतिशतले बढेर ५० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा खुद्रा लघुवित्तको कुल कर्जा तथा सापटी १०.०९ प्रतिशतले बढेर ४ खर्ब ८७ अर्ब ७४ करोड रुपैयाँ पुगे पनि निष्क्रिय कर्जाको अनुपात ७ प्रतिशतबाट बढेर १०.४२ प्रतिशत पुगेको छ।
निष्क्रिय कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्थासमेत बढेको छ। खुद्रा लघुवित्तको कुल कर्जा नोक्सानी व्यवस्था ३४.८८ प्रतिशतले बढेर ३५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। निष्क्रिय कर्जाका लागि मात्रै गरिएको व्यवस्था ८४.०८ प्रतिशतले बढेर २९ अर्ब ४३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
यद्यपि, खुद्रा लघुवित्तको खुद नाफा भने ४८.१४ प्रतिशतले बढेर १० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। ४८ वटा खुद्रा लघुवित्तमध्ये दुईवटा संस्था खुद नोक्सानीमा छन्।
समग्र लघुवित्त क्षेत्रमा निष्क्रिय कर्जाको अनुपात ९.७८ प्रतिशत पुगेको छ। आठवटा लघुवित्तको कुल पुँजीकोष न्यूनतम ८ प्रतिशतभन्दा कम रहेको तथा १० वटा संस्था शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी व्यवस्थाअन्तर्गत रहेको राष्ट्र बैंकले जनाएको छ।
यसबीच लघुवित्त संस्थाको सदस्य संख्या ४.९६ प्रतिशतले बढेर ६५ लाख ३० हजार पुगे पनि शाखा संख्या घटेर ४ हजार ९२४ मा सीमित भएको छ। लघुवित्त क्षेत्रको कुल सम्पत्ति भने ७.८८ प्रतिशतले बढेर ६ खर्ब ५५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकको तथ्यांकले लघुवित्त क्षेत्रमा कर्जा, सदस्यता, स्रोत परिचालन र नाफा विस्तार भइरहे पनि कर्जाको गुणस्तर, पुँजीकोष र नियामकीय अनुपालनमा थप ध्यान दिनुपर्ने अवस्था देखाएको छ।

प्रतिक्रिया