कोलकातामा लेनिन, मार्क्स र हो ची मिन्हका नामका सडक फेर्ने तयारी


काठमाडौं । भारतको पश्चिम बंगाल सरकारले कोलकातामा लेनिन, कार्ल मार्क्स र हो ची मिन्हका नाममा रहेका सडक तथा सार्वजनिक स्थलको नाम पुनःनामकरण गर्ने प्रस्तावमाथि समीक्षा थालेको छ।

राज्य सरकारले नामकरण तथा पुनःनामकरणसम्बन्धी प्रस्ताव अध्ययन गर्न १० सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। समितिको अध्यक्षता स्वामी प्रदीप्तानन्द (कार्तिक महाराज) ले गरेका छन्।

समितिमा प्राप्त प्रस्तावअनुसार ‘लेनिन सरणी’को नाम गणितज्ञ तथा भारतीय जनसंघका पूर्वअध्यक्ष देवप्रसाद घोषको नाममा राख्ने सुझाव छ। ‘कार्ल मार्क्स सरणी’को नाम बंगाली कवि माइकल मधुसुदन दत्त वा रंगलाल बन्द्योपाध्यायमध्ये कुनै एकको नाममा राख्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, ‘हो ची मिन्ह सरणी’को नाम अमेरिकी नागरिक अधिकार अभियन्ता मार्टिन लुथर किङ जुनियरको नाममा राख्ने प्रस्ताव पनि आएको छ।

समितिले सम्बन्धित व्यक्तित्वको भारतीय तथा बंगाली इतिहास, संस्कृति र स्थानीय विरासतसँगको सम्बन्ध अध्ययन गरी सिफारिस गर्नेछ। पहिलो बैठक दुर्गापूजापछि बस्ने बताइएको छ। हालसम्म कुनै प्रस्तावमा अन्तिम निर्णय भने भएको छैन।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार