काठमाडौँ । आज असोज १ गते देशभर भगवान् विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा मनाइँदैछ। उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानमा मेसिन, औजार तथा प्रविधिको सफाइ गरी विशेष पूजा गरिएको छ।
विश्वकर्मालाई धार्मिक मान्यताअनुसार देवशिल्पी तथा विश्वकै पहिलो इन्जिनियर र वास्तुकारका रूपमा मानिन्छ। उनले स्वर्गलोक, लंका, द्वारका तथा विभिन्न देवताका अस्त्र–शस्त्र निर्माण गरेको पौराणिक विश्वास छ।
विश्वकर्मा पूजाका अवसरमा नयाँ सवारीसाधन खरिद गर्ने तथा पुराना सवारीसाधनको पूजा गर्नेहरू बिहानैदेखि मन्दिर तथा शक्तिपीठमा पुगेका छन्। काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत शक्तिपीठमा सवारीसाधन पूजा गर्ने भक्तजनको उल्लेख्य भिड देखिएको छ।
कार्यकुशलता, सीप, सफलता र समृद्धि प्राप्त हुने धार्मिक विश्वासका आधारमा हरेक वर्ष असोज १ गते विश्वकर्माको आराधना गर्ने परम्परा रहँदै आएको छ।

प्रतिक्रिया