अस्ट्रेलियामा आप्रवासन नियम कडा, ‘भिसा हपिङ’ र ओभरस्टेमा लक्षित कारबाही


सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले आप्रवासन प्रणालीमा कडाइ गर्दै भिसा अवधि सकिएपछि पनि बस्ने तथा एकपछि अर्को अस्थायी भिसा परिवर्तन गर्ने प्रवृत्ति रोक्न नयाँ नियम ल्याउने भएको छ।

गृह मामिला मन्त्री टोनी बर्कले नयाँ सुधार सार्वजनिक गर्दै शुद्ध वैदेशिक आप्रवासन (नेट ओभरसिज माइग्रेसन) हालको करिब २ लाख ९२ हजारबाट आगामी वर्ष २ लाख २५ हजारमा झार्ने सरकारको लक्ष्य रहेको बताएका छन्।

नयाँ व्यवस्थाअनुसार पर्यटक भिसालाई लामो समय अस्ट्रेलिया बस्ने माध्यमका रूपमा प्रयोग गर्न नदिन सबै भिजिटर भिसामा ‘नो फर्दर स्टे’ सर्त लागू गर्ने योजना छ। विद्यार्थी भिसाबाट अर्को भिसामा निरन्तर परिवर्तन गर्ने ‘भिसा हपिङ’ रोक्न पनि नियम कडा बनाइनेछ।

अन्तर्राष्ट्रिय विद्यार्थीले डिपेन्डेन्ट तथा परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने व्यवस्थामा समेत थप कडाइ गरिने भएको छ। तर हालै परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीका परिवारलाई छुट्याउने गरी नियम लागू नगरिने बर्कले स्पष्ट पारेका छन्।

सरकारले स्वास्थ्य, निर्माण, शिक्षा, कानुन कार्यान्वयन, रक्षा र कृषि क्षेत्रका सीपयुक्त कामदारलाई प्राथमिकता दिने जनाएको छ। आप्रवासन प्रणालीको दुरुपयोगमा सहयोग गर्ने माइग्रेसन एजेन्टमाथि पनि कडा कारबाही गरिने बताइएको छ।

बर्कले आप्रवासन प्रणालीलाई अस्ट्रेलियाको आर्थिक आवश्यकता र श्रम बजारअनुसार थप लक्षित बनाउने बताएका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार