काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। एक वर्षअघि भदौ २३ र २४ गते हजारौँ युवा सडकमा उत्रिएर सामाजिक सञ्जालको स्वतन्त्रतासँगै भ्रष्टाचार, नातावाद, बेरोजगारी, राजनीतिक अस्थिरता र अवसरको असमानताविरुद्ध आवाज उठाएका थिए।
आन्दोलनले नयाँ पुस्ताको राजनीतिक तथा सामाजिक असन्तुष्टिलाई सतहमा ल्याउँदै राज्य सञ्चालन र राजनीतिक नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
आन्दोलनपछि सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सेवा र युवाको सहभागिताका विषयमा बहस तीव्र बनेको छ। सरकारले मन्त्रालयको सङ्ख्या घटाउने, सार्वजनिक सेवा डिजिटल बनाउने र नागरिक एपमार्फत सेवा सहज बनाउनेलगायत सुधार अघि बढाएको जनाएको छ।
तर रोजगारी, गुणस्तरीय शिक्षा, समान अवसर, पारदर्शिता र राज्यप्रतिको विश्वासका सवाल अझै पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्। जेनजी आन्दोलनको सफलता सरकार परिवर्तनभन्दा पनि राज्य सञ्चालनको संस्कार र नागरिकको दैनिक जीवनमा देखिने परिवर्तनबाट मापन हुने देखिन्छ।

प्रतिक्रिया