काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल तथा पहाडी क्षेत्रमा समेत विस्तार गरिएको छ ।
बाढीबाट जोगिन भागेका क्रममा जंगलमा फसेका वा चोटपटकका कारण हिँड्न नसक्ने अवस्थामा रहेका हुन सक्ने आशंकामा दक्ष रक क्लाइम्बर टोली परिचालन गरिएको आयोजनाले जनाएको छ ।
कम्पनीले नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टेखोला क्याम्प तथा आसपासका जंगलमा खोजी गरिरहेको छ । हिमालय समिट क्लब प्रालिको ८ सदस्यीय टोलीले सम्भावित बाटो, ओत लाग्न सक्ने स्थान तथा अप्ठ्यारो भौगोलिक क्षेत्रमा खोजी गरिरहेको छ ।
यसअघि नेपाली सेनाको उद्धार टोलीले आयोजनाको विद्युत्गृहभित्र समेत खोजी गरेको थियो । तर, कन्ट्रोल रुमसहित विद्युत्गृहका विभिन्न भाग हिलो, लेदो, माटो र काठका टुक्राले पुरिएको अवस्थामा रहेकाले सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन ।
बाढीका कारण आयोजनामा कार्यरत ९३ जना अझै सम्पर्कविहीन छन् भने ७ जनाको यसअघि नै उद्धार भइसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया