काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित योजनाबारे छलफल गरेका छन्।
मस्कोमा शनिबार तीन घण्टाभन्दा लामो वार्तापछि क्रेमलिनका वरिष्ठ अधिकारी युरी उशाकोभले छलफल स्पष्ट र रचनात्मक भएको बताउनुभयो। अमेरिकी पक्षले युद्ध अन्त्यका लागि विभिन्न प्रस्ताव अघि सारे पनि तत्काल कुनै ठोस सहमति भने भएको छैन।
मस्को वार्तापछि विटकफ र कुशनर आइतबार युक्रेनको राजधानी किएभ पुगेका छन्। त्यहाँ उनीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युद्ध अन्त्यका उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ।
रुसले पूर्वी युक्रेनमा आफ्नो सैन्य लक्ष्यबाट पछि नहट्ने संकेत दिएको छ भने युक्रेनले आफ्नो भूभाग त्याग्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने अडान दोहोर्याउँदै आएको छ। दुवै पक्षले वार्ताको वातावरण सहज बनाउन तीन दिनसम्म राजधानीमा आक्रमण नगर्ने प्रतिबद्धता जनाए पनि युक्रेनका विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको बताइएको छ।
यसबीच, अमेरिकी दूतको किएभ भ्रमणलाई वासिङ्टनको शान्ति प्रयासलाई पुनः गति दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। तर तत्काल युद्धविराम वा स्थायी शान्ति सम्झौताको सम्भावना भने अझै स्पष्ट भइसकेको छैन।

प्रतिक्रिया