रसुवा बाढीका शव व्यवस्थापनमा चुनौती, अस्थायी भण्डारण गर्न विज्ञको सुझाव


काठमाडौं । रसुवा बाढीमा बगेका २८९ जनाको शव फेला परेपछि शव व्यवस्थापनमा चुनौती बढेको छ। चितवनका स्वास्थ्य संस्थामा करिब ५० वटा शव मात्र राख्न सक्ने क्षमता रहेकाले सयौं शव व्यवस्थापन गर्न समस्या भएको हो।

फोरेन्सिक विज्ञहरूले पहिचान प्रक्रिया पूरा नगरी शवको हतारमा दाहसंस्कार गर्न नहुने बताएका छन्। उनीहरूका अनुसार प्रत्येक शवको नम्बरिङ, फोटो, भेटिएको स्थान, समय, लुगा, गहना र शरीरका विशेष चिनारीलगायत विवरण सुरक्षित राख्नुपर्छ।

ठूलो संख्यामा शव भेटिएको अवस्थामा सुरक्षित स्थानमा वैज्ञानिक विधिबाट अस्थायी रूपमा गाडेर राख्न सकिने विज्ञहरूको सुझाव छ। त्यस्तै, रेफ्रिजेरेसन जडान गरिएका ठूला कन्टेनरलाई अस्थायी शव भण्डारण गृहका रूपमा प्रयोग गर्न सकिने उनीहरूले बताएका छन्।

विज्ञहरूले फोरेन्सिक चिकित्सक, प्रहरी, दन्त चिकित्सक, फिंगरप्रिन्ट तथा डीएनए विज्ञसहितको डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) टोली गठन गरी शव व्यवस्थापनलाई एकद्वार प्रणालीबाट अघि बढाउनुपर्ने बताएका छन्।

शवको अवस्था हेरेर प्रत्यक्ष पहिचान, औंठाछाप वा दाँत परीक्षणबाट पहिचान गर्न सकिने र आवश्यक परे डीएनए परीक्षण गर्नुपर्ने उनीहरूको भनाइ छ। पर्याप्त प्रमाणबिना शव परिवारलाई जिम्मा दिँदा गलत व्यक्तिको शव हस्तान्तरण हुने जोखिम रहेकाले राज्यले तत्काल सुरक्षित अस्थायी शव भण्डारणस्थल बनाउनुपर्ने विज्ञहरूको सुझाव छ।

२०८३ भाद्र ११, बिहीबार १७:०४ प्रकाशित
ट्रेन्डिङ समाचार