काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका निजी छात्रावास (होस्टेल) मा विभिन्न प्रकारका विकृति, विसंगति र सुरक्षा जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले छात्रावास सञ्चालनमा व्यापक कडाइ गर्ने भएको छ।
विद्यार्थीमाथि अमानवीय व्यवहार तथा यातना दिने, तोकिएको शुल्कभन्दा बढी असुल गर्ने, कमजोर सुरक्षा व्यवस्था राख्ने, सरसफाइ र खानपानमा लापरबाही गर्ने, लागुऔषध तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बिक्री–वितरण हुने, छात्रावासभित्रै झडप भएर विद्यार्थीको मृत्युसम्म हुने तथा अध्ययन र मनोरञ्जनका आधारभूत सुविधा नहुनेजस्ता गुनासा बढेपछि प्रशासनले सबै निजी छात्रावासलाई लक्षित गर्दै २१ बुँदे आचारसंहिता तथा सञ्चालनसम्बन्धी मापदण्ड जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको ‘छात्रावास सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना’ मार्फत काठमाडौं जिल्लाभित्र निजी ढंगबाट सञ्चालनमा रहेका सबै छात्रावासलाई एक महिनाभित्र तोकिएका व्यवस्था अनिवार्य रूपमा पूरा गर्न निर्देशन दिएको छ।
प्रशासनले छात्रावासहरूको नियमित तथा आकस्मिक अनुगमन गर्दै आएको जनाएको छ। प्राप्त गुनासो र अनुगमनका क्रममा मापदण्ड उल्लंघन गर्ने केही छात्रावासलाई तीन लाख रुपैयाँसम्म जरिवाना तथा छात्रावास शिलबन्दीसमेत गरिएको सूचनामा उल्लेख छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले छात्रावासमा देखिएका विकृति र विसंगति नियन्त्रण गरी विद्यार्थीका लागि सुरक्षित, मर्यादित र अध्ययनमैत्री वातावरण बनाउन २१ बुँदे व्यवस्था गरिएको बताए।
‘हामीले बनाएको २१ बुँदे नियम सबै छात्रावासले कडाइका साथ पालना गर्नुपर्छ। विद्यार्थीको सुरक्षा, मर्यादा र सुविधामा कुनै सम्झौता हुन सक्दैन,’ प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनपोस्टसँग भने, ‘मापदण्ड पालना नगर्ने र अटेर गर्ने छात्रावासमाथि प्रचलित व्यवस्थाअनुसार जरिवानादेखि बन्दसम्मको कारबाही हुन्छ।’
छात्रावासभित्र देखिएका विकृति के–के हुन् ?
जिल्ला प्रशासनको सूचनाले काठमाडौंका छात्रावासमा पछिल्लो समय देखिएका समस्याको गम्भीर तस्वीरसमेत प्रस्तुत गरेको छ।
प्रशासनका अनुसार छात्रावासमा विद्यार्थीलाई मानवीय व्यवहार नगर्ने तथा यातना दिने, लाग्ने शुल्कभन्दा बढी रकम असुल गर्ने, कमजोर खालका पूर्वाधार राख्ने, सरसफाइमा ध्यान नदिने, खाना तथा पानीको स्वच्छताका मापदण्ड पूरा नगर्ने जस्ता समस्या देखिएका छन्।
त्यस्तै, छात्रावासमा पुरुष र महिलाका लागि आवश्यक छुट्टाछुट्टै सुरक्षा तथा अन्य व्यवस्था पर्याप्त नभएको, शौचालय, बाथरुम, सुत्ने कोठालगायतका आधारभूत सुविधा पर्याप्त नभएको तथा लागुऔषधको दुरुपयोग हुने गरेको प्रशासनको निष्कर्ष छ।
सबैभन्दा गम्भीर पक्षका रूपमा छात्रावासभित्रै झडप भएर विद्यार्थीको मृत्युसमेत भएको घटनालाई प्रशासनले उल्लेख गरेको छ।
विद्यार्थीको अध्ययन र मानसिक स्वास्थ्यका लागि आवश्यक पर्ने मनोरञ्जन कक्ष, अध्ययन कक्ष तथा पुस्तकालयजस्ता सुविधा पनि पर्याप्त नरहेको र यसैका कारण पटक–पटक गुनासा आउने गरेको प्रशासनले जनाएको छ।
यस्ता समस्या नियन्त्रण गर्न अब छात्रावास सञ्चालकले आफूखुसी छात्रावास चलाउन नपाउने भएका छन्।
अब छात्रावास सञ्चालनमा यी २१ नियम अनिवार्य
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको २१ बुँदे आचारसंहिताले छात्रावासको दर्तादेखि सुरक्षा, शुल्क, खानपान, पूर्वाधार, विद्यार्थीको विवरण, सीसीटीभी र आकस्मिक उद्धारसम्मका विषय समेटेको छ।
१. सरकारी मापदण्ड अनिवार्य:
नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहले छात्रावास सञ्चालनका सम्बन्धमा जारी गरेका सम्पूर्ण मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने।
२. विद्यार्थीमैत्री वातावरण:
छात्रावासमा बस्ने विद्यार्थी तथा व्यक्तिलाई मानवीय व्यवहार गर्दै सुरक्षित, मर्यादित र सम्मानजनक वातावरण तयार गर्नुपर्ने।
३. लागुऔषध तथा सूर्तिजन्य पदार्थमा प्रतिबन्ध:
छात्रावासभित्र लागूऔषध तथा लागुऔषधजन्य पदार्थ, चुरोट तथा सूर्तिजन्य पदार्थको प्रयोग र बिक्री–वितरणमा पूर्ण रोक लगाउनुपर्ने।
४. अनिवार्य दर्ता तथा नवीकरण:
तोकिएका सम्बन्धित निकायमा छात्रावास अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्नुपर्ने।
५. उचित भौतिक पूर्वाधार:
प्रत्येक कोठा फराकिलो, पर्याप्त प्रकाशयुक्त र हावा आवतजावत हुने प्रकृतिको हुनुपर्ने।
६. पुस्तकालय र अध्ययन कक्ष:
विद्यार्थीको पढाइलाई सहज बनाउन व्यवस्थित पुस्तकालय तथा अध्ययन कक्षको व्यवस्था गर्नुपर्ने।
७. सरसफाइ र खानाको गुणस्तर:
छात्रावासको सरसफाइ तथा विद्यार्थीलाई उपलब्ध गराइने खानाको गुणस्तर कायम गर्नुपर्ने।
८. पानी, विद्युत् र इन्टरनेटको सुविधा:
स्वच्छ पिउने पानी तथा अन्य आवश्यक पानीको पर्याप्त व्यवस्था, विद्युत् र इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने तथा वैकल्पिक व्यवस्था पनि राख्नुपर्ने।
९. तोकिएको शुल्क मात्रै लिनुपर्ने:
छात्रावासमा लाग्ने शुल्क तथा दररेट सार्वजनिक गरी प्रकाशित दररेटअनुसार मात्रै रकम लिनुपर्ने।
१०. संवेदनशील स्थानबाहेक सीसीटीभी:
कोठा र शौचालयजस्ता संवेदनशील स्थानबाहेक अन्य स्थानको निगरानीका लागि सीसीटीभी जडान गर्नुपर्ने।
११. विद्यार्थीको अद्यावधिक विवरण प्रहरीलाई:
छात्रावास सञ्चालक तथा त्यहाँ बस्ने विद्यार्थी र अन्य व्यक्तिको अद्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउनुपर्ने।
१२. अनुशासन कायम गर्नुपर्ने:
छात्रावासमा बस्ने विद्यार्थी तथा अन्य व्यक्तिले मर्यादित र अनुशासित व्यवहार गर्नुपर्ने।
१३. छिमेकीलाई असर गर्न नपाइने:
छात्रावास रहेको स्थान वरपरका घरधनी तथा छिमेकीलाई छात्रावासका कारण कुनै प्रकारको बाधा, व्यवधान वा होहल्ला हुन नदिने व्यवस्था मिलाउनुपर्ने।
१४. २४ घण्टा जिम्मेवार व्यक्ति र सुरक्षा:
छात्रावासमा चौबीसै घण्टा जिम्मेवार वाडेन तथा निजी सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने।
१५. विद्यार्थी र सञ्चालकबीच सम्झौता:
छात्रावासमा बस्ने विद्यार्थी र सञ्चालकबीच अनिवार्य रूपमा सम्झौता गर्नुपर्ने।
१६. घर भाडामा लिएर सञ्चालन गर्दा घरधनीसँग सम्झौता:
अरूको घर भाडामा लिएर छात्रावास सञ्चालन गरिएको भए घरधनीसँग अनिवार्य रूपमा घरभाडा सम्झौता गरेको हुनुपर्ने।
१७. सञ्चालक र वाडेनको विवरण प्रहरीलाई:
छात्रावास सञ्चालक तथा वाडेनको व्यक्तिगत विवरण जिल्ला प्रशासन कार्यालय र नजिकको प्रहरी इकाइमा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने।
१८. आगलागी र स्वास्थ्य सुरक्षाको तयारी:
छात्रावासमा Fire Extinguisher, First Aid लगायतका अत्यावश्यक सामग्री अनिवार्य रूपमा राख्नुपर्ने।
१९. महिला र पुरुष छात्रावासमा छुट्टै व्यवस्था:
महिला तथा पुरुष दुवैका लागि छात्रावास सञ्चालन गरिएको भए छुट्टाछुट्टै कार्यालय तथा आवास भवनको व्यवस्था गर्नुपर्ने।
२०. आकस्मिक सम्पर्क नम्बर देखिने गरी राख्नुपर्ने:
आपत्कालीन अवस्थामा सम्पर्क गर्नुपर्ने सरकारी निकायका फोन नम्बर छात्रावासमा सबैले देख्ने गरी राख्नुपर्ने।
२१. मनोरञ्जन र प्रशिक्षणको व्यवस्था:
विद्यार्थीलाई समय–समयमा मनोरञ्जन तथा छात्रावासको मर्यादा र अनुशासन कायम राख्न प्रशिक्षण कक्षा सञ्चालन गर्नुपर्ने तथा कम्तीमा वर्षमा एकपटक प्रशिक्षण गराउनुपर्ने।
काठमाडौं प्रशासनको यो कदमसँगै निजी छात्रावास सञ्चालकले विद्यार्थी राखेर शुल्क उठाउने मात्रै नभई सुरक्षा, शिक्षा, स्वास्थ्य, अनुशासन, पूर्वाधार र मानवीय व्यवहारसमेत सुनिश्चित गर्नुपर्ने भएको छ।
प्रशासनले एक महिनाभित्र तोकिएका व्यवस्था पूरा गर्न निर्देशन दिएकाले अब काठमाडौंका निजी छात्रावासमा मापदण्डको कार्यान्वयन भए–नभएको विषयमा प्रशासनको निगरानी थप कडा हुने देखिएको छ।
विशेषगरी विद्यार्थी तथा अभिभावकबाट आउने गुनासा, सुरक्षा जोखिम, शुल्क असुली, खानपान, सरसफाइ, लागुऔषधको प्रयोग तथा छात्रावासभित्र हुने आपराधिक गतिविधिलाई प्रशासनले प्राथमिकतामा राखेको छ।
यसअघि छात्रावास सञ्चालनमा देखिएका कमजोरीलाई सामान्य व्यवस्थापकीय विषयका रूपमा लिइँदै आए पनि विद्यार्थीको सुरक्षा र जीवनसँग जोडिएका घटना तथा निरन्तरका गुनासापछि प्रशासनले अब यसलाई नियमन र अनुगमनको विषय बनाएको हो।
यसले काठमाडौंमा सञ्चालित सयौं निजी छात्रावासका सञ्चालकलाई आफ्नो व्यवस्थापन, पूर्वाधार र सुरक्षा प्रणाली पुनरावलोकन गर्न बाध्य बनाउने भएको छ।
अब छात्रावास सञ्चालकका लागि प्रश्न केवल ‘विद्यार्थी राख्ने ठाउँ’ व्यवस्थापन गर्ने मात्र रहने छैन; विद्यार्थीको सुरक्षा, मर्यादा, अध्ययन, स्वास्थ्य र अनुशासन सुनिश्चित गर्ने जिम्मेवारी पनि उत्तिकै अनिवार्य हुने भएको छ।
प्रशासनले जारी गरेको २१ बुँदे मापदण्डको उल्लंघन गरी अटेर गर्ने छात्रावासमाथि जरिवानादेखि शिलबन्दीसम्मको कारबाही हुन सक्ने भएकाले काठमाडौंका छात्रावास सञ्चालकहरू थप दबाबमा परेका छन्।


