भेरी करिडोर बन्द हुँदा डोल्पामा इन्धन अभाव


डोल्पा । जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर एक सातादेखि अवरुद्ध हुँदा डोल्पामा एलपी ग्याँस, पेट्रोल र डिजेलको अभाव हुन थालेको छ।

जाजरकोटको चौखास्थित तासुघाट खोलामा बाढीले सडक, ह्युमपाइप र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको हो। सडक बन्द हुँदा डोल्पा जाने मालवाहक तथा यात्रुवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।

आपूर्ति रोकिएपछि बजारमा ग्याँस तथा इन्धनको मौज्दात घट्दै गएको प्रशासनले जनाएको छ। ग्याँस अभावका कारण होटल व्यवसायसमेत प्रभावित भएका छन्।

भेरी करिडोर कार्यालयले सडक मर्मतको काम तीव्र रूपमा भइरहेको र सवारीसाधन सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सडक खुलेपछि बाटोमा रोकिएका मालवाहक सवारीसाधन डोल्पा भित्रिएसँगै इन्धन तथा दैनिक उपभोग्य वस्तुको अभाव कम हुने अपेक्षा गरिएको छ।

२०८३ भाद्र ६, शनिबार १६:३१ प्रकाशित
ट्रेन्डिङ समाचार