काठमाडौं । सरकारले शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक र तलब बढाउनेदेखि सहसचिव कमलप्रसाद भट्टराईलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न प्रशासनिक, शैक्षिक, कूटनीतिक तथा पूर्वाधारसम्बन्धी ११ वटा महत्वपूर्ण निर्णय गरेको हो।
बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीलाई उपलब्ध गराउँदै आएको संघीय सरकारको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। यस्तै, शिक्षण सहयोग अनुदान कोटामा कार्यरत माध्यमिक तथा आधारभूत तहका शिक्षकको तलबसमेत सम्बन्धित श्रेणीका शिक्षकसरह कायम गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्दै बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।
बैठकले नेपालमा एसियन डिजास्टर प्रिपियरनेस सेन्टरको सब–सेन्टर (शाखा) स्थापना गर्न स्वीकृति दिने, नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने तथा भुक्तानी तथा फर्छ्यौट ऐन र नागरिक लगानी कोष ऐन संशोधनसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय
१. सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
२. विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधारका लागि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।
३. भारतसँगको सीमा व्यवस्थापनसम्बन्धी बैठकमा प्रतिनिधिमण्डल पठाइने
भदौ ४ र ५ गते भारतमा आयोजना हुने सीमा व्यवस्थापनसम्बन्धी जोइन्ट वर्किङ ग्रुपको १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउन स्वीकृति दिइएको छ।
४. नेपालमा एसियन डिजास्टर प्रिपियरनेस सेन्टरको सब–सेन्टर स्थापना हुने
एसियन डिजास्टर प्रिपियरनेस सेन्टरको सब–सेन्टर (शाखा) नेपालमा स्थापना गर्न सरकारले स्वीकृति दिने निर्णय गरेको छ।
५. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डल जाने
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउन स्वीकृति दिइएको छ।
६. बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक ५ हजार बढ्यो
प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय भएको छ।
७. शिक्षण सहयोग अनुदानका शिक्षकको तलब श्रेणीअनुसार कायम
माध्यमिक तह कक्षा ९–१० र आधारभूत तह कक्षा ६–८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गर्ने निर्णय गरिएको छ।
८. नेपाल–साउदी द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति
नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।
९. भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन विधेयक संसद्मा जाने
भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरिएको छ।
१०. नागरिक लगानी कोष ऐन संशोधन विधेयक संसद्मा पेश गरिने
नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ।
११. कमलप्रसाद भट्टराई सचिवमा बढुवा, बागमतीको प्रमुख सचिवमा पदस्थापन
मन्त्रिपरिषद्ले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्ने निर्णय गरेको छ। बढुवा भएका भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरिएको छ।
यससँगै आजको मन्त्रिपरिषद् बैठकले शिक्षा, प्रशासन, अन्तर्राष्ट्रिय सम्बन्ध, हवाई सेवा, विपद् व्यवस्थापन तथा कानुनी सुधारसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय गरेको छ।


