काठमाडौं । सरकारले सचिव बढुवा सिफारिस समितिद्धारा १ नम्बरमा सिफारिस भएका कमल प्रसाद भट्टराईलाई सचिवमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराइलाई सचिवमा बढुवा गरेको हो ।
भट्टराई हाल बाग्मती प्रदेशको कायममुकाय प्रमुख सचिवका रुपमा रहेका छन् । उनी अब कन्फर्म सचिव बनेका छन् । भट्टराइले यस अघि सहसचिव हुँदा सम्पति शुद्धीकरण अनुसन्धान विभाग, वैदेशिक रोजगार विभागको महानिर्देशकको रुपमा सफलतापूर्वक भुमिका निर्वाह गरेका थिए । उनले ती निकायमा रहँदा सुधारका लागि उल्लेख्य पहल गरेका थिए । उनी सुधारक तथा नवीन योजना बनाएर कार्यान्वयन गराउन सक्ने प्रशासकका रुपमा चिनिन्छन् । उनलाई सचिवमा बढुवा गरी बाग्मती प्रदेशको प्रमुख सचिवमा नै पदस्थापन गरिएको छ ।
गत विहीबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले भट्टराई सहित सहसचिवहरु इन्दु घिमिरे र श्रीकृष्ण नेपाललाई सचिव बढुवाको लागि सिफारिस गरेको थियो । सिफारिस भएका मध्ये एक नम्बरमा रहेका भट्टराई सचिबमा बढुवा भएका हुन् ।
निजामती सेवामा प्रशासन सेवा तर्फ अझै ७ सचिव पद रिक्त छ । रिक्त ती पदहरुमा पनि अब क्रमशः सचिवका लागि सिफारिस र नियुक्ति प्रक्रिया जारी रहने भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।


