करदाता उपहार योजनाको पहिलो ड्र सार्वजनिक, १० लाखको बम्पर पुरस्कार


काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको लकी ड्र नतिजा सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार सम्पन्न ड्रमा २५० रुपैयाँको सामान खरिद गरी कुपन नम्बर ००७३१५२५४४९३ प्राप्त गर्ने उपभोक्ता १० लाख रुपैयाँको बम्पर पुरस्कारका विजेता बनेका छन्। पुरस्कार रकममा २५ प्रतिशत कर कट्टा गरी ७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिने विभागले जनाएको छ।

यस्तै, अन्य १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्, जसमा कर कट्टा भएपछि १ लाख रुपैयाँ नगद उपलब्ध गराइनेछ। विभागका अनुसार विजेता छनोट निष्पक्ष र पारदर्शी ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म र्‍यान्डम स्याम्पलिङ’ विधिबाट गरिएको हो।

सरकारले उपभोक्तालाई खरिदपछि अनिवार्य रूपमा बिल माग्ने र व्यवसायीलाई बिल जारी गर्न प्रोत्साहन गर्दै कर चुहावट नियन्त्रण तथा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना सञ्चालनमा ल्याएको हो।

२०८३ श्रावण २२, शुक्रबार २०:०९ प्रकाशित
ट्रेन्डिङ समाचार