एमबीएस प्रश्नपत्र चुहावटमा सनसनीपूर्ण खुलासा : दुई कलेजमा पढाउने शिक्षक नै पक्राउ

हिमालयन र केएमसीमा फाइनान्स पढाउने शिक्षकले परीक्षा सुरु भएको केही मिनेटमै व्हाट्सएपमा पठाएको आरोप, सीआईबीको अनुसन्धान थप विस्तार


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा नयाँ र गम्भीर तथ्य सार्वजनिक भएको छ। प्रारम्भिक अनुसन्धानबाट प्रश्नपत्र बाहिर ल्याउने व्यक्ति परीक्षार्थी नभई दुई निजी कलेजमा अध्यापन गराउने शिक्षक नै रहेको खुलेपछि प्रकरणले नयाँ मोड लिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कोटेश्वरस्थित हिमालयन कलेज र बागबजारस्थित काठमाडौं मोडेल कलेज (केएमसी) मा फाइनान्स विषय अध्यापन गर्दै आएका ३३ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरेको छ। सिंहले एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै व्हाट्सएपमार्फत सार्वजनिक गरेको आरोपमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार सिंहलाई आइतबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बाट पक्राउ गरिएको हो। उनको स्थायी ठेगाना कैलालीको घोडाघोडी नगरपालिका–११ रहेको छ।

उनीमाथि शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो प्रश्नपत्र

गत साउन ८ गते सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको एमजीटी–५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै व्हाट्सएप ग्रुपमा पुगेको थियो।

त्यसपछि सोही दिन प्रश्नपत्र सार्वजनिक भएको देखिने व्हाट्सएप ग्रुपका स्क्रिनसटहरू ‘टीयू स्टुडेन्ट्स’ नामक फेसबुक पेजमार्फत सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो।

सीआईबीका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त प्रश्नपत्र शिक्षक सिंहकै मोबाइलबाट सम्बन्धित व्हाट्सएप समूहमा पठाइएको देखिएको छ। यद्यपि उनले प्रश्नपत्र कहाँबाट प्राप्त गरे, त्यसको स्रोत कसले उपलब्ध गरायो र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रवक्ता जबराले भने, “व्हाट्सएप ग्रुपमा उहाँले पठाएको देखिएको छ। तर उहाँले प्रश्नपत्र कसरी प्राप्त गर्नुभयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।”

अन्य परीक्षामा पनि निगरानी बढाइयो

एमबीएस प्रथम सेमेस्टरका अन्य विषयका परीक्षा अझै सञ्चालन हुन बाँकी रहेकाले यस्ता गैरकानुनी गतिविधि दोहोरिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सीआईबीले विशेष निगरानी बढाएको जनाएको छ।

प्रहरीले परीक्षा सम्बन्धी गोपनीयता भंग गर्ने, प्रश्नपत्र चुहाउने वा त्यस्ता गतिविधिमा संलग्न हुने जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रश्नपत्र चुहावटमा शिक्षक नै पक्राउ परेपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली, प्रश्नपत्रको सुरक्षा र गोपनीयता व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। अब अनुसन्धानको केन्द्रबिन्दु प्रश्नपत्र शिक्षकसम्म कसरी पुग्यो र यसमा थप व्यक्ति वा संगठित सञ्जालको संलग्नता छ कि छैन भन्ने विषय बनेको छ।

२०८३ श्रावण १०, आईतवार २२:५० प्रकाशित
ट्रेन्डिङ समाचार