गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको प्रयास भइरहेको बताएका छन्।
पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रान्तिका गतिविधिविरुद्ध नयाँ अभियान सञ्चालन गर्नुपर्ने बताए।
उनले गणतन्त्र र परिवर्तनका उपलब्धिमाथि भइरहेको हमलाविरुद्ध संकल्पका साथ अघि बढ्नुपर्ने धारणा राखे। प्रचण्डले कम्युनिस्ट आन्दोलनको वैचारिक आधार निर्माणमा पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सामन्तवाद र साम्राज्यवादविरुद्ध वैचारिक हतियार निर्माणमा उनको भूमिका ऐतिहासिक रहेको बताए।