दुई दिने बिदा कटौतीको चर्चा निराधार, सरकार भन्छ– ‘कुनै तयारी छैन’


काठमाडौं  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबारको सार्वजनिक बिदा हटाउने विषयमा फैलाइएका हल्ला र सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति स्पष्ट खण्डन गरेको छ। कार्यालयले हाल कायम रहेको शनिबार र आइतबार दुई दिने सार्वजनिक बिदा यथावत् रहेको र त्यसलाई कटौती गर्ने कुनै तयारी नभएको जनाएको हो ।

प्रधानमन्त्री कार्यालयका एक सचिवले प्रशासनपोस्टसँग कुरा गर्दै दुई दिने बिदा हटाउने विषयमा सरकारभित्र कतै पनि औपचारिक वा अनौपचारिक छलफल नभएको स्पष्ट पारे।
उनले भने, “आइतबारको बिदा हटाइने भन्ने प्रचार पूर्ण रूपमा निराधार हो । सरकारको त्यस्तो कुनै योजना छैन ।”

पछिल्ला दिनमा केही प्रदेश सरकारहरूले कार्यालय सञ्चालन समय तथा बिदा व्यवस्थापनबारे आन्तरिक छलफल अघि बढाएको सन्दर्भलाई जोडेर केन्द्र सरकारले समेत आइतबारको बिदा हटाउने तयारी गरिरहेको भन्ने प्रचार विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएको थियो।

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको स्पष्ट गर्दै नागरिकलाई भ्रममा नपर्न आग्रह गरेको छ।

सरकारले हाल कार्यान्वयनमा रहेको दुई दिने सार्वजनिक बिदा व्यवस्थाबारे कुनै पुनरावलोकन प्रक्रिया समेत सुरु नगरेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ।

२०८३ जेष्ठ २४, आईतवार १९:१८ प्रकाशित
ट्रेन्डिङ समाचार