काठमाडौँ । नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी गम्भीर र संरचनागत समस्या बनेको अध्ययनले देखाएको छ। एक्सनएडको अध्ययनअनुसार १३ जिल्लाका ३६१ श्रमिकमध्ये ६६.२ प्रतिशतले आफूले गरेको कामको पूरा ज्याला नपाएको बताएका छन् भने ७३.४ प्रतिशतले आंशिक मात्र पारिश्रमिक प्राप्त गरेको जनाएका छन्।
प्रतिवेदनले ९३.१ प्रतिशत श्रमिकसँग लिखित श्रम सम्झौता नभएको र अधिकांशले ज्याला ठगीविरुद्ध औपचारिक उजुरी नगरेको उल्लेख गरेको छ। महिलाले पुरुषको तुलनामा औसत ३१.१ प्रतिशत कम ज्याला पाउने तथा ठेकेदार र बिचौलिया प्रणाली श्रमिक शोषणको मुख्य कारण बनेको अध्ययनको निष्कर्ष छ। श्रमिक अधिकार सुनिश्चित गर्न प्रभावकारी नियमन, कानुनी संरक्षण र लिखित श्रम सम्झौताको व्यवस्था आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ।
२०८३ जेष्ठ २१, बिहीबार १८:५४ प्रकाशित



