लोकसेवा परीक्षा तयारी/टिप्स ( विषयगत प्रश्नोत्तर )


 संसदको अवहेलना भन्नाले के बुझनुहुन्छ ? यसको उल्लंघनमा हुने सजायबारे उल्लेख गर्दै संसदको मर्यादा कायम गर्न के गर्नुपर्ला ? सुझावहरु प्रस्तुत गर्नुहोस् ।
संसदको अवहेलना
 संसदको नियमित कार्यमा अवरोध पुऱ्याउन अनाधिकृत रूपमा उपस्थित हुने, भाग लिने, अनाधिकृत रूपमा संसदमा बोल्ने, मतदान गर्ने लगायतका कार्य गरेमा संसदको अवहेलना मानिने व्यवस्था छ ।
 यो संसदीय मूल्य मान्यता र पद्धति विपरितको कार्य हो ।
 गैर सांसदले संसदीय प्रक्रियामा भाग लिने कार्य संसदको अवहेलना हो ।
 प्रतिनिधि सभा नियमावली, २०७९ र राष्ट्रिय सभा नियमावली, २०७५ ले तथा वर्तमान संविधानले यस्तो कार्यलाई दण्डनीय मानेको छ ।
 यस्ता गतिविधिले जननिर्वाचित संसदको गरिमामा आँच पुऱ्याउने हुन्छ । यस्ता कार्य र गतिविधिलाई निरुत्साहित र नियन्त्रण गर्न नसकिएमा यसले संसदीय सर्वोच्ताको धज्जी उडाउँछ ।
 यस्ता कार्य र गतिविधि भएमा संसदको कुनै पनि सदस्यले सभाध्यक्षलाई जानकारी गराउनुपर्ने सदस्यको दायित्व हुन्छ ।

संसदको अवहेलनामा हुने सजाय
 नसिहत दिने,
 रू. १०,००० सम्म जरिवाना गर्ने,
 सदनबाट बाहिर निकाल्ने,
 एकमहिना सम्म कैद गर्ने ।
संसदको मर्यादा कायम राख्न गर्नुपर्ने उपाय
 संसदलाई व्यवस्थित र मर्यादिन बनाउन निम्न कार्य गर्नुपर्दछ:
 आचारसंहितको पूर्ण पालना गर्ने गराउने,
 दण्ड सजायको प्रभावकारी कार्यान्वयन गर्ने,
 उत्कृष्ट सांसदलाई पुरष्कृत गर्ने,
 प्रधानमन्त्री लगायतले संसदलाई समय दिने,
 अधिकार सम्पन्न आचरण अनुगमन समितिको व्यवस्था गर्ने,
 संसदीय दलले आफ्ना सांसदको गतिविधिलाई मर्यादिन बनाउने,
 उचित पूर्वतयारिका साथ संसदमा प्रस्तुत हुन सदस्यलाई प्रोत्साहन गर्ने ।
निष्कर्ष
संसदीय कामकारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन सदनको विशेषाधिकारको व्यवस्था गरिएको हुन्छ । जनप्रतिनिधिमुलक सार्वभौमसत्तासम्पन्न जननिर्वाचित संस्थाको विशेषाधिकारको हनन दण्डनीय मानिन्छ ।

राजनीतिक दल र संसदीय दलविच के सम्बन्ध रहेको हुन्छ ? राजनीतिक दल र संसदीय दलविचको भिन्नताको चर्चा गर्दै संसदीय दलका कार्यहरु उल्लेख गर्नुहोस् ।
पृष्ठभूमि
 संसदमा कुनै खास राजनीतिक दलका सांसदहरुको समूहलाई संसदीय दल भनिन्छ ।
 राजनीतिक दलको तर्फबाट निर्वाचित भई संसद वा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद स्वत: सम्बन्धित राजनीतिक दलको संसदीय दलको सदस्य हुन्छन् ।
 निश्चित सिद्धान्त, मूल्यमान्यता र दर्शनमा आधारित रहेर राजनीतिक उद्देश्य प्राप्तिका लागि खोलिएको सङ्गठनलाई राजनीतिक दल भनिन्छ । राजनीतिक दल जनताको सङ्गठन हुन् । राजनीतिक दलको सार्थक उपस्थितिमा नै लोकतन्त्र सम्भव हुन्छ ।

राजनीतिक दल र संसदीय दलविचको सम्बन्ध
 राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राष्ट्रिय दलको मान्यता पाउन कुनै पनि दलले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सीट अनिवार्य जित्नुपर्ने व्यवस्था गरेको छ । संसदीय दल भनेको राजनीतिक दलकै सांसदहरुको समूह हो । राजनीतिक दलको उद्देश्य प्राप्तिका लागि संसदीय दल संसदमा क्रियाशील हुने गर्दछ ।

 राजनीतिक दलका आफ्ना नीति र कार्यक्रमहरु संसद र सरकारमा सहभागी भई कार्यान्वयन गर्ने माध्यम संसदीय दल हुन् ।
 राजनीतिक दलले गठन गरेको संसदीय दलले संसदमा बहुमत जुटाई सरकार गठन गर्न र सरकारले संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रम, बजेट एवं विधेयकलाई पारित गर्न सक्रिय रहने गर्दछन् ।

 संसदीय दल प्रतिपक्षमा रहेको अवस्थामा सरकारका कमी, कमजोरीको आलोचना गर्ने, राष्ट्र र जनताका समस्याका बारेमा संसदमा आवाज उठाउने र सरकारले प्रस्तुत गरेको नीतिको सट्टा वैकल्पिक नीति प्रस्ताव गरी जनमत सिर्जना गर्ने र आगामी निर्वाचनमा आफ्नो राजनीतिक दललाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।
 संसदीय दल राजनीतिक दलकै व्यवस्थापिकीय प्रतिनिधि भएकाले राजनीतिक दलको मूल नीति उल्लङ्घन गरेको अवस्थामा सरकारलाई मार्गदर्शन र आवश्यकतानुसार नियन्त्रण गर्ने कार्य राजनीतिक दलले गर्नु पर्दछ।

 राजनीतिक दल र संसदीय दलबीच समन्वय र सहकार्य गर्दै उपरोक्त बमोजिमका दुई थरी मतबीच सामञ्जस्यता कायम गर्नु उपयुक्त मानिन्छ । राजनीतिक दल र संसदीय दल एकै सिक्काका दुई पाटा जस्तै हुन्, एकअर्काको अभावमा ती पूर्ण हुँदैनन् ।
 राजनीतिक दलको अभावमा संसदीय दलको परिकल्पना गर्न सकिँदैन भने संसदीय दलको अभावमा राजनीतिक दलले आफ्नो नीति, घोषणापत्र र निर्वाचनमा गरिएका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान सम्भव हुँदैन ।

राजनीतिक दल र संसदीय दलविचको भिन्नता
 राजनीतिक दल समान राजनीतिक विचारधारा दर्शन र कार्यक्रमप्रति प्रतिबद्ध व्यक्तिहरुको समूह हो भने संसदीय दल संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरुको समूह हो ।

 सबै राजनीतिक दलका संसदीय दल नहुन पनि सक्छन् भने सबै संसदीय दलका आफू संलग्न राजनीतिक दल हुन्छन् ।
 राष्ट्रिय राजनीतिक दलका कार्यालयहरु सामान्यतया मुलुकभर रहन्छन् भने संसदीय दलको कार्यालय संसदमा मात्र रहन्छ ।
 राजनीतिक दलको कार्यालय स्थापना र सो को सञ्चालनको आवश्यक व्यवस्था राजनीतिक दल स्वयंले गर्छन् भने संसदीय दलको कार्यालय स्थापना र सो को सञ्चालनका लागि आवश्यक व्यवस्था संसद सचिवालयले गर्दछ ।
 राजनीतिक दलको नियमनकारी निकायको रुपमा निर्वाचन आयोग रहेको हुन्छ भने संसदीय दलको नियमन संसदीय दलको नेता एवं सम्बन्धित राजनितिक दलले नै गर्दछ ।
 राजनीतिक दल अविछिन्न उत्तराधिकारवाला संगठित संस्थाको रुपमा रहेको हुन्छ भने संसदीय दलको अस्तित्व निर्वाचनमा राजनितिक दलको सहभागीता र सफलतामा निर्भर रहन्छ ।

संसदीय दलका कार्यहरु
 प्रतिनिधिसभामा बहुमत जुटाई सरकारको गठन गर्ने
 राजनीतिक दलको नीति अनुरुप संसदमा क्रियाशिल रहने

 राष्ट्र र जनताको हितमा कानून निर्माण कार्यमा सक्रिय रहने
 संसदमा प्रभावकारी प्रस्तुतिका लागि आवश्यक रणनीति तय गर्ने
 मुलुक र जनताका समस्याका सम्बन्धमा संसदमा पैरवी गर्ने
 संसदीय दलका सदस्यहरुमा अनुशासन कायम गर्ने
 विवादित विषयमा सहमति कायम गर्न पहल गर्ने
निष्कर्ष
नेपालमा राजनीतिक दल प्रधान भएकाले सरकारले सत्तारुढ दलको निर्देशन पालना गर्नु पर्दछ भन्ने एकथरी मत र सत्ता सञ्चालनका लागि संसदीय दल प्रधान भएकाले राजनीतिक दलले सरकारको काममा हस्तक्षेप गर्नु हुँदैन भन्ने अर्को थरी मत पनि रहेको देखिन्छ ।

 ह्विवपको प्रकार, कार्य र ह्विवप जारी हुन सक्ने अवस्थाहरु के के हुन् ? ह्विवपका सबल र दुर्बल पक्ष केलाउदैँ संसदीय व्यवस्थामा ह्विवपका चुनौतीहरु र ह्विवप सम्बन्धी समस्या समाधानका लागि आवश्यक सुझावहरु प्रस्तुत गर्नुहोस् ।
पृष्ठभूमि
 संसद सदस्यहरुलाई जारी मतदानको लागि निर्देशन वा उनीहरुको दलको संसदीय समूहमा कुनै खास विधायिकाको स्थिति अनुरुप कार्य गर्न निर्देशन दिने कार्य नै ह्विवप हो ।
 संसदभित्र दलको अनुशासनलाई सुनिश्चित गर्नका लागि ह्विवपको व्यवस्था गरिन्छ ।
 संसद संसदले पार्टी विधानको पालना नगर्ने आशय देखिएमा वा पार्टी विपरित जान सक्ने संभावना देखिएमा संसदीय दल वा सचेतकमार्फत ह्विवप जारी गरिन्छ ।
ह्विवपको प्रकारहरु
 एक लाइनको ह्विप (A Single-Line Whip)
• यसले पार्टीको नीतिलाई संकेत गर्दछ ।
• यस्तो ह्विप उपस्थिति वा मतदानको लागि गैर-बाध्यकारी छ ।
• वास्तवमा पार्टी नीतिको सहयोगको लागि जारी गरिन्छ ।
• यसमा मुख्यतया संसद् सदस्यलाई संसद्को बैठकमा मतदानको लागि उपस्थित भई पार्टीको नीतिअनुरूप मतदान गर्नको लागि निर्देशन हुने गर्दछ ।
• त्यस्तो अपेक्षा अनुरूप सदस्यको उपस्थिति नहुन पनि सक्ने अवस्था रहन्छ ।

 दुई लाइनको ह्विप (A Two Line Whip):
• यसलाई दोहोरो प्रकृतिको ह्विवपको रूपमा लिने गरिन्छ ।
• यो ह्विप मुख्य गरेर मतदानमा भाग लिन र मतदान गर्ने निर्देशन हो।
• यसमा आंशिक रूपमा पार्टीको स्थितिअनुसार मतदानका लागि बाध्यकारी हुनेछ ।
• सचेतकबाट पूर्व अनुमति लिएमा संसद् बैठकमा उपस्थितिलाई त्यति अनिवार्य रूपमा लिइँदैन ।
• यस प्रकारको ह्विपलाई संसद्को नीति सम्बन्धी कार्यको सन्दर्भमा महत्वपूर्ण मतदानको रूपमा लिने गरिन्छ ।

 तीन लाइनको ह्विप ( A Three-Line Whip):
• यसले पार्टीको स्थितिअनुसार संसद् बैठकमा उपस्थित हुने र मतदान गर्न कडा निर्देशन हो ।
• सामान्यतया यसको उल्लङ्घनले नराम्रो परिणाम ल्याउने कार्य गर्छ ।
• यस प्रकारको ह्विवपमा निर्देशनको उल्लङ्घनलाई गम्भीर रूपमा लिने गरिन्छ ।
• संसद् सदस्यहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन र पार्टीको निर्देशन अनुरूप मतदान गर्नको लागि निर्देशन गर्ने गरिन्छ ।
• यस निर्देशनको समयमा संसद् सदस्यलाई केवल दुर्लभ अवस्थामा मात्र अनुपस्थिति हुनसक्ने अनुमति रहन्छ ।
• सरकारले विश्वासको मत लिन, महत्त्वपूर्ण संसदीय विषय तथा महत्वपूर्ण विधेयकको दोस्रो वाचन (Second Reading) को सन्दर्भमा यस्तो ह्विवप जारी गर्ने गरिन्छ ।

ह्विवपका कार्य
 पार्टीका निर्णयहरू कार्यान्वयन गर्ने
 आवश्यक समन्वय तथा सहजीकरण गर्ने
 संसद्को बैठकमा बोल्न चाहने आफ्नो दलका सदस्यहरूको सूची तय गरी सभामुख वा अध्यक्षलाई आवश्यकता अनुरूप उपलब्ध गराउने
 आफ्नो दलले महत्वपूर्ण ठानेको विषयमा छलफल गर्नको लागि आफ्ना दलका सबै सदस्यहरूको उपस्थितिलाई सुनिश्चित गर्ने,
 आफ्ना दलका संसद् सदस्यलाई आवश्यक निर्देशन दिने तथा सल्लाह र सुझाव आवश्यकता अनुरूप लिने कार्य गर्ने,
 आफ्नो दलको संसदीय बैठक तथा केन्द्रीय समिति समक्ष संसद्को बैठक तथा संसद्मा रहेका र भएका विभिन्न गतिविधि तथा अवस्थाको बारेमा आफ्नो धारणा राख्ने कार्य गर्ने,
 पक्ष वा विपक्ष दलका प्रमुख सचेतक, मुख्य सचेतक वा सचेतकहरूसँग आवश्यक वार्ता, छलफल तथा सहकार्य र सहयोगको आदान प्रदान गर्ने,

ह्विवप जारी हुन सक्ने अवस्थाहरु
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ ले संसदीय दलका नेताको निर्देशनबमोजिम त्यस्तो दलको सचेतकले देहायका प्रस्तावमा संघीय संसद्को कुनै सदन वा प्रदेश सभामा हुने मतदानमा त्यस्तो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई निर्देशन (ह्विप ) जारी गर्न सक्ने अधिकार दिएको छ :-
 सरकारको विश्वास वा अविश्वासको प्रस्ताव,
 सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने विषय,
 वार्षिक बजेट पारित गर्ने विषय,
 राष्ट्रिय वा सार्वजनिक महत्वको अन्य कुनै विषय
ह्विवपका सबल पक्ष
 दलीय अनुशासन कायम हुने
 कानुनको शासन कायम हुने
 दल तथा संसदीय समितिका सदस्यको अधिकारको प्रयोग तथा संरक्षण र सम्बर्द्धन गर्न सहज हुने
 कुनै विषयमा निर्णय गर्दा वा कारबाही गर्दा अपनाउनु पर्ने कार्यविधि तय गर्न, विधायिकाको इच्छाको लिखित अभिव्यक्तिलाई व्यवहारमा रूपान्तरण गर्न, जनभावना अनुरूप जनताको मतको कदर गर्न सकिने

 देशलाई एक सभ्य राज्यको रूपमा स्थापित गर्न सकिने
 दलीय व्यवस्थालाई सबल हुने
 शासकीय प्रणालीलाई चुस्त दुरुस्त बनाई कानुनी शासनको मान्यतालाई स्थापित गरी सुशासनको प्रवर्द्धन गर्न सकिने
 जनप्रतिनिधिमूलक संस्था संसद्को भूमिका प्रभावकारी बनाउन सहयोग पुग्ने

ह्विवपका दुर्बल पक्ष
 जनविरोधी तथा जनभावनालाई सम्बोधन नगर्ने दलको निर्णयको अवज्ञा गर्न नसकिने
 पार्टी पद्धतिलाई अस्वीकार गर्न नसकिने
 देश र जनताको भावनाउपर आघात पर्न सक्ने दलको निर्णयप्रति मतदानको माध्यमबाट असहमति प्रकट गर्न नसकिने
 स्वेच्छिक मतदानको अधिकारको प्रवर्द्धन गर्न नसकिने
 विधायन निर्माण गर्ने जनप्रतिनिधिमूलक संस्थालाई जनअपेक्षामा केन्द्रित गर्ने कार्यका लागि ह्विप नमान्न नसकिने
 पार्टीका नराम्रा तथा अलोकप्रिय कार्यलाई न्यूनीकरण गर्न कठिन हुने

संसदीय व्यवस्थामा ह्विवपका चुनौतीहरु
 संसदीय पद्धतिको छवी (Image) लाई कायम राख्न चुनौती थपिदै गएको
 पार्टीको अनुशासन कायम गर्नु एकातर्फ आवश्यकता छ भने अर्कोतर्फ वाक् स्वतन्त्रताको सम्मान गर्नु पर्ने आवश्यकताको सम्बोधन गर्न कठिन हुने
 संसदीय पार्टीको काम कारबाहीमा सुधार गर्नुपर्ने
 संविधानबमोजिम संसद् सदस्यको विशेषाधिकारको सम्मान गर्नु एक महत्वपूर्ण कुरा हो भने अर्कोतर्फ संविधानको धारा ८९ तथा धारा १८० बमोजिम संघीय संसद्का सदस्य तथा प्रदेश सभाका सदस्यको पद रिक्त हुने सन्दर्भमा भएको व्यवस्था एक आपसमा तादात्म्यता नरहेको
 पृष्ठपोषणको व्यवस्था, सूचना प्रवाहमा सुधार तथा आर्थिक खर्चको व्यवस्था पनि चुनौती देखिएको
 संसदीय सुधार, राजनैतिक दल सुधार, चुनावी सुधार, न्यायिक सुधार आदि विषयलाई राजनीति र अर्थव्यवस्था सुधार आवश्यक देखिएको
 अपेक्षित परिवर्तनमा राष्ट्रिय सहमति विकसित गर्न नसकिएको
 संविधान तथा कानुनको भावना अनुरूप ह्विवपको पालना गर्न गराउन पर्याप्त प्रयास नरहेको
 ह्विप सम्बन्धी उल्लंघन हुनुमा राजनीतिक कारणको अलावा कतिपय संसद् सदस्यलाई यसको अनभिज्ञता पनि रहेकोले जानकारीमूलक शिक्षाको अभाव रहेको
 ह्विप सम्बन्धी व्यवस्था लगायत राजनीतिक दल सम्बन्धी ऐन तथा सचेतना कार्यक्रमको अभाव रहेको
 सचेतना तथा क्षमता विकासको लागि तालिमको पर्याप्त व्यवस्था नभएको
 दलीय अनुशासन कायम नभएको
 आन्तरिक लोकतन्त्र कमजोर रहेको

ह्विवप सम्बन्धी समस्या समाधानका लागि आवश्यक सुझावहरु
 कुनै पनि पार्टीको सचिवालयले पार्टी र प्रक्रियात्मक समस्याहरूको बारेमा सल्लाह गर्ने
 पार्टी स्थिति (Position) को कागजपत्र, भाषण र नोट लेख्न विचार आदानप्रदान गरेर कुनै पनि प्रकारको विवादित विषयमा छलफल वा ब्रिफिंग सत्रहरू र त्यस्तै प्रकारको व्यवस्था गर्नु पर्ने

 पार्टीभित्रको अन्तरद्वन्द्व तथा सङ्घर्षलाई कुशलतापूर्वक समाधान गर्नको लागि पहिलो प्राथमिकता दिनु पर्ने
 पार्टीभित्र सबैलाई स्वीकार्य हुने प्रजातान्त्रिक अभ्यासको प्रयोगमा जोड दिनु पर्ने
 बहुमत प्राप्त दल वा सरकार गठन गर्ने पार्टीहरू, अर्को आधिकारिक विपक्षमा रहेका पार्टी र विपक्षी संसद् सदस्यहरू विचको सहकार्यलाई बढावा दिनु पर्ने,
 पार्टीको ह्विप जुनसुकै समयमा जारी नगरी केवल विशेष महत्वपूर्ण मामिलामा मात्र जारी हुने कार्यलाई बढावा दिनु पर्ने
 पार्टीको ह्विप बहुमत सदस्यहरूको वास्तविक विचारलाई राष्ट्रिय चासोको विषयहरूमा विशिष्ट दृष्टिकोणले पारित गर्ने प्रचलनमा जोड दिनु पर्ने
 कुनै पनि विषयमा निर्णय लिँदा लामो बहस गरी तथ्यगत कुरा तथा सार्वजनिक सरोकार र जनताको पक्षमा सकारात्मक प्रभाव पार्न सक्ने विषयमा मात्र ह्विप जारी गर्ने कार्यमा बढावा दिनु पर्ने

 जुनसुकै विषयमा जहिले पनि ह्विप जारी गर्ने विषय न्यूनीकरण गर्नु पर्ने
 कतिपय अवस्थामा संसद् सदस्यहरूलाई स्वतन्त्र मत दिने अधिकार दिनु पर्ने अवस्थामा त्यस्तो कार्य गर्न प्रोत्साहन गर्नु पर्ने
 स्वतन्त्र मतको अभ्यास गर्दा संसद् सदस्यको विवेकको आम परीक्षण हुने हुँदा असल अभ्यास र सभ्य संस्कृतिको निर्माणको अपेक्षा गर्नु पर्ने,
 संसद् सभाको बैठकमा पार्टीका सदस्यहरूकाबीच अनुशासनको सुनिश्चितता गर्नु पर्ने
 संसद् सदस्यहरूमा हुनसक्ने सरकारप्रतिको असन्तुष्टिका लक्षणहरूलाई पहिचान गरी त्यस्ता समस्याहरूको समयमै समाधान गर्नु पर्ने

 पार्टीका सदस्यहरूको भावना सम्बन्धित पार्टीको नेतालाई जानकारी गराई आवश्यकता अनुरूप छलफलको माध्यमबाट समस्याको समाधान खोज्नु पर्ने
 संसदीय व्यवस्थामा पार्टीको अनुशासनलाई कायम राख्न आवश्यक पर्ने पहल सचेतकमार्फत गरिनु पर्ने
 समय समयमा संसदीय पार्टीमा देखापर्ने आन्तरिक गुनासोलाई छलफलको माध्यमबाट समयमै निराकरण गर्नु पर्ने
 पार्टीका सदस्यहरूबीच समन्वय र सहकार्यलाई बढावा दिने प्रकृतिका कार्य गर्नुपर्ने

 पार्टी आन्तरिक सङ्गठन मजबुत बनाउनु पर्ने
 ह्विपको सन्दर्भमा विवादित बिषयहरू उपर सौहार्दपूर्ण वातावरण कायम गरी छलफलको माध्यममार्फत समाधान गर्न आवश्यक पहल गर्नु पर्ने
 पार्टीको ह्विपको जिम्मेवारी लिने संसद् सदस्यले आफ्नो जिम्मेवारी कुशलतापूर्वक (Tactfully and Skillfully) निर्वाह गर्नु पर्ने
 संसद् सचिवालयमा कार्यरत कर्मचारी लगायतका सम्बन्धित पक्षसँग ह्विवप व्यवस्थापनसँग सम्बन्धित कुरामा आवश्यक सहयोग र समन्वय गर्ने
 सम्बद्ध पदाधिकारी तथा कर्मचारीलाई कानून बमोजिमको आफ्नो भूमिका निष्पक्ष रूपमा निर्वाह गर्ने वातावरण सिर्जना गर्नुपर्ने
 चुनौतीलाई निरन्तरको छलफल, अध्ययन र अन्तर्राष्ट्रिय अनुभवहरूको समेत आधारमा समाधान गर्नु पर्ने

निष्कर्ष
संसदीय व्यवस्थामा संसदमा राजनीतिक दलको विधानभित्र रही आधिकारिक नीति अनुसार मतदान गर्न जारी गरिने ह्विवपले दलीय प्रणालीलाई स्वस्थ बनाउनुको साथै लोकतन्त्रलाई जिवन्त बनाउन सहयोग गर्दछ ।

२०८३ जेष्ठ १९, मंगलवार २२:१८ प्रकाशित
ट्रेन्डिङ समाचार