दिल्लीमा रवि–जयशंकर भेट : विकास साझेदारी र जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका विदेशमन्त्री एस जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल–भारतबीचको विकास साझेदारी, दुई देशका नागरिकबीचको सम्बन्ध तथा साझा समृद्धि र आर्थिक विकासका विषयमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन्।

जयशंकरले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै रास्वपा सभापति लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “आज दिल्लीमा नेपालका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुसी लाग्यो। हाम्रो छलफल भारत–नेपाल विकास साझेदारी र दुई देशका नागरिकबीचको सम्बन्धमा केन्द्रित रह्यो। यी विषयले दुवै देशको विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन्।”

जयशंकरको भनाइले नेपाल–भारत सम्बन्धमा सरकारी तहसँगै राजनीतिक दलबीचको संवाद र सहकार्यलाई पनि महत्व दिइएको संकेत गरेको छ। पछिल्लो समय दुई देशबीच पूर्वाधार, ऊर्जा, व्यापार, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास भइरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

रास्वपाले भने भेटवार्ताबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। तर भारतीय विदेशमन्त्री स्वयंले विकास साझेदारी र जनस्तरीय सम्बन्धलाई छलफलको मुख्य एजेन्डा भएको उल्लेख गरेपछि उक्त भेटलाई नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित संवादका रूपमा हेरिएको छ।

२०८३ जेष्ठ १९, मंगलवार १७:५३ प्रकाशित
ट्रेन्डिङ समाचार