काठमाडौं । जेठ १३– वर्षायामसँगै बढ्दो विपद् जोखिमलाई ध्यानमा राख्दै रोशी गाउँपालिकाले विपद् व्यवस्थापनका लागि अन्तरपालिका, सुरक्षा निकाय तथा व्यवसायीबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बुधबार आयोजित अन्तरपालिका, अन्तरनिकाय तथा व्यवसायीहरूसँगको समन्वय एवं सूचना आदान–प्रदान बैठकले विपद्का समयमा संयुक्त सहकार्यलाई सुदृढ बनाउने निष्कर्ष निकालेको हो।
बैठकमा बाढी, पहिरो, आगलागी, राजमार्ग अवरोध तथा दुर्घटनाजस्ता विपद्जन्य घटनाका बेला तत्काल सूचना प्रवाह, उद्धार तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र व्यवसायी कम्पनीबीच प्रभावकारी समन्वय आवश्यक रहेको विषयमा छलफल गरिएको थियो।
निर्णयअनुसार सम्बन्धित स्थानीय तहहरूले ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरी अन्तरपालिका सहकार्यलाई थप मजबुत बनाउने भएका छन्। साथै वेबसाइट, फेसबुक पेज तथा छुट्टै व्हाट्सएप समूहमार्फत अडियो, भिडियो र तस्वीरसहित तत्काल सूचना आदान–प्रदान गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
बैठकले वडा स्तरीय विपद् व्यवस्थापन समिति, विपद् फोकल पर्सन तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउँदै प्रतिकार्य, जोखिम न्यूनीकरण र व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ। यसका लागि जिम्मेवार पदाधिकारीहरूको नाम र सम्पर्क विवरण सार्वजनिक गरिने बताइएको छ।
त्यसैगरी, सुरक्षा निकायले विपद् सम्बन्धी घटनाबारे नजिकको स्थानीय तहलाई तत्काल जानकारी गराई उद्धार तथा व्यवस्थापनमा सहयोग गर्ने तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह र व्यवसायीबीच समन्वय गरेर सूचना प्रवाहलाई व्यवस्थित बनाउने सहमति भएको छ।
बैठकमा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सडक डिभिजन कार्यालयका प्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।


