काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र(पर्सि) सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले हाल इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको जनाइएको छ ।
‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने । उनले त्रृटि नहुने गरी नतिजा सार्वजनिक गरिने भएकाले विशेष सतर्कता अपनाइएको बताए ।
बोर्डका अनुसार यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।
शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भयो । रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका हौँ,’ नियन्त्रक अधिकारीले भने
एसईई परीक्षा गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यसवर्ष परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।


