काठमाडौ
संवैधानिक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद बैठक बोलाएका छन् । संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको हो ।
बैठक विहीबार साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको थियो ।
हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त। अख्तियार सदस्य लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् ।
यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षको पद रिक्त छ भने एकजना बाहेक अरु सदस्य छैनन् ।समावेशी आयोगमा पनि अध्यक्ष र अर्का एक सदस्यको पद रिक्त छ । महिला आयोगमा पनि एक पद रिक्त छ । मुस्लिम आयोग, थारू आयोगमा पनि पदाधिकारी पद रिक्त छन् ।
संवैधानिक पदहरुमा नियुक्तिका लागि परिषदले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।


