सरकार नसच्चिए मधेसका रास्वपा सांसदले छठपछि जनताको पिटाइ खान्छन् : अमरेश सिंह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारको कार्यशैली तत्काल नसच्चिए मधेसमा पार्टीका सांसदहरू जनताको आक्रोशको निशानामा पर्ने चेतावनी दिएका छन्।

बुधबार बसेको रास्वपा संसदीय दलको बैठकमा सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाउँदै सिंहले मधेसमा सरकारप्रति बढिरहेको असन्तोषलाई नजरअन्दाज नगर्न नेतृत्वलाई चेतावनी दिएका हुन्।

बैठकमा उनले कडा शब्दमा भने, ‘यही पारा हो भने मधेसका सांसदले छठपछि पिटाइ खान्छन्।’

सरकारको कार्यशैली तत्काल सुधार नगरे जनतामा रहेको असन्तुष्टि थप चुलिन सक्ने भन्दै उनले सरकार र पार्टी नेतृत्वलाई गम्भीर बन्न आग्रह गरे।

‘मेरिटोक्रेसी भन्यौं, नियुक्तिमा कांग्रेस–एमालेकै मान्छे देखिए’

सिंहले सरकारका विभिन्न नियुक्तिमाथि समेत प्रश्न उठाएका छन्। रास्वपाले सार्वजनिक नियुक्तिमा योग्यता र क्षमतालाई प्राथमिकता दिने अर्थात् मेरिटोक्रेसीको प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार काम नभएको उनको आरोप छ।

‘नियुक्तिमा मेरिटोक्रेसीका आधारमा भन्यौं । तर, कांग्रेस एमालेका मान्छे धेरै छन् । धेरै नियुक्ति पाइरहेका कांग्रेस एमाले छन्, नियालेर हेर्‍यो भने,’ उनले बैठकमा भने।

सरकारका निर्णय, नियुक्ति र कार्यशैलीप्रति जनस्तरमा प्रश्न उठ्न थालेको भन्दै उनले त्यसलाई समयमै सम्बोधन गर्नुपर्ने बताएका थिए।

मधेसमा बढ्दो असन्तुष्टिप्रति बैठकमा गम्भीर चासो

सिंहले विशेषगरी मधेसमा सरकारप्रति बढिरहेको असन्तुष्टिलाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। सरकारको कार्यशैली परिवर्तन नभए त्यसको प्रत्यक्ष राजनीतिक असर रास्वपाका सांसदहरूले व्यहोर्नुपर्ने उनको संकेत थियो।

बैठकमा सहभागी अन्य सांसदहरूले समेत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्नुपर्ने धारणा राखेका थिए।

रविको निर्देशन– व्यवहार र कार्यशैली सुधार्नू

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले समेत मन्त्री तथा सांसदहरूलाई आफ्नो कार्यशैली र व्यवहार सुधार्न निर्देशन दिएका छन्।

सरकार सञ्चालनका क्रममा जनतासँगको सम्बन्ध, व्यवहार र प्रभावकारितामा विशेष ध्यान दिनुपर्ने भन्दै लामिछानेले मन्त्री तथा सांसदहरूलाई सचेत गराएका हुन्।

बैठकमा रास्वपाबाट सरकारमा सहभागी सबै मन्त्रीहरूको उपस्थिति रहेको थियो।

सरकारको कार्यशैलीप्रति सत्तारूढ दलकै सांसदबाट आएको यस्तो कडा चेतावनीले रास्वपाभित्रै सरकारको कामकारबाहीप्रति असन्तुष्टि बढिरहेको संकेत गरेको छ।

२०८३ भाद्र ३, बुधबार २१:२९ प्रकाशित
ट्रेन्डिङ समाचार