सुनसरीको देवानगञ्ज घटनाः मृत्यु हुनेको संख्या २ पुग्यो, थप आठ घाइते उपचाररत


काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहता रहेका छन्। पेटमा गोली लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो। बिहीबार दिउँसो उपचारकै क्रममा उनको निधन भएको मोरङ प्रहरीले जनाएको छ।

अस्पतालका अनुसार गोली लाग्दा उनको पेटको आन्द्रा बाहिर निस्किएको थियो। सोमबार शल्यक्रिया गरिएपछि भेन्टिलेटरमा राखेर सघन उपचार गरिए पनि उनको ज्यान बचाउन नसकिएको हो।

यसअघि आइतबार राति भएको सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्‍याइएलगत्तै मृत्यु भएको थियो। चिकित्सकले आइतबार राति करिब १०:४० बजे उनलाई मृत घोषणा गरेका थिए।

दुवै मृतकको शव हाल विराटनगरस्थित अस्पतालमा राखिएको छ।

प्रहरीका अनुसार उक्त घटनामा गोली लागेर कुल १० जना युवा घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने बाँकी आठ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घटनाको कारण र गोली प्रहारमा संलग्न व्यक्तिबारे प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
:::

२०८३ श्रावण १४, बिहीबार १६:०६ प्रकाशित
ट्रेन्डिङ समाचार