पत्रकार महासंघको अल्टिमेटम: माग पूरा नभए सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी


काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारलाई आफ्ना माग सम्बोधन गर्न सात दिनको समय दिँदै माग पूरा नभए सिंहदरबार केन्द्रित आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। महासंघको प्रदेश पदाधिकारी, शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूको राष्ट्रिय सम्मेलनले जारी गरेको ‘ललितपुर घोषणापत्र–२०८३’ मार्फत यस्तो घोषणा गरिएको हो।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप, सरकारी सूचना तथा सार्वजनिक विज्ञापन वितरणमा विभेद, पत्रकारको असुरक्षा र विद्युतीय कारोबार ऐनमार्फत हुने धरपकडप्रति आपत्ति जनाएको छ।

घोषणापत्रमा निजी क्षेत्रका सञ्चारमाध्यममाथि कानुनविपरीत अंकुश लगाइएको, पत्रकारको रोजगारी असुरक्षित बनेको र श्रम अधिकार उल्लङ्घन बढेको उल्लेख गरिएको छ। महासंघले पत्रकारको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन, सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता गराउन तथा न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ।

सरकारसँग संवादका लागि तयार रहेको सञ्चारमन्त्रीको भनाइलाई सकारात्मक लिँदै महासंघले सात दिनभित्र माग सम्बोधन गर्न आग्रह गरेको हो। माग पूरा नभए आन्दोलनसँगै आवश्यक परे अन्तर्राष्ट्रिय मिडिया मिसन आह्वान गर्ने चेतावनीसमेत दिएको छ।

महासंघले सञ्चारसम्बन्धी कानुनलाई प्रेसमैत्री र संघीयताको मर्मअनुकूल बनाउन, अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउन र प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ।

२०८३ असार २४, बुधबार ०९:१० प्रकाशित
ट्रेन्डिङ समाचार