‘कुलिङ पिरियड’ प्रकरण : संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार


काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ पिरियड’ प्रकरणमा संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन्।

सोमबारको कार्यव्यवस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाएपछि सभामुखले प्रतिनिधिसभामा त्यसको जानकारी गराएका हुन्। उनका अनुसार नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वको सो समिति गठन गरिएको हो।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ गठन गरिएको हो। सो समितिले २१ दिनको समय सिमा पाएको छ।

सो छानबिन समितिमा दलीय आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहेका छन्।

जसअनुसार नेपाली कांग्रेसबाट जीवन परियार र सुशिला थिंग, एमालेबाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती र राप्रपाबाट रोशन कार्की तथा माओवादीबाट माधव सापकोटा र रास्वपाबाट गणेश पराजुली रहेका छन्।

संघीय निजामती सेवा विधेयकमा सहमति विपरित ‘कुलिङ पिरियड’ हटाएर संसदमा प्रतिवेदन पेश गरेको भन्दै राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा र सचिव दुरा माथी छानबिन गर्न माग पछि सो समिति गठन गरिएको हो।

२०८२ असार २३, सोमबार १७:५९ प्रकाशित
ट्रेन्डिङ समाचार