
काठमाडौँ । काठमाडौं महानगरपालिकाका १८० नगर प्रहरीले ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम प्राप्त गरेका छन्।
नगर प्रहरी बल र उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो।
तालिम ३ समूहमा विभाजन गरिएर १५/१५ दिन सञ्चालन गरिएको थियो, जसमा ५३ जना नगर प्रहरी हवल्दार र १२७ जना जवान सहभागी थिए।
उपत्यका ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार तालिमले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ। उनले तालिम प्राप्त जनशक्तिले सवारी, पैदलयात्रु र चालक सबैका लागि सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तालिमले प्रहरीको दक्षता बढाउन मद्दत गरेको बताए। उनका अनुसार सहरी व्यवस्थापनमा कानून, नीति र निर्देशनको पालना गर्ने क्षमता विकास गर्न यस्तो तालिम आवश्यक छ।
२०८२ बैशाख १७, बुधबार १२:१८ प्रकाशित