शिक्षक आन्दोलनमा आपसी झडप, एक जना घाइते


काठमाडौँ । राजधानीमा जारी शिक्षक आन्दोलनको क्रममा शिक्षकहरूबीच आपसी झडप हुँदा एक शिक्षक घाइते भएका छन्।

कैलालीका ४५ वर्षीय केशवराज जोशी झडपमा घाइते भएको प्रहरीले जनाएको छ। उनी धनगढी-१२ स्थित श्री दुर्गा आधारभूत माध्यमिक विद्यालयमा कार्यरत छन्।

प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार, शनिबार दिउँसो करिब १ बजे बिजुलीबजारमा आन्दोलनमा सहभागी केही शिक्षकबीच मतभेद उत्पन्न भएको थियो। सो क्रममा अन्दाजी १५–२० जना शिक्षकले जोशीमाथि कुटपिट गरेको बताइएको छ।

घाइते जोशीलाई उपचारका लागि सिभिल अस्पताल, मिनभवनमा भर्ना गरिएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्, तर टाउको र शरीरका अन्य भागमा चोट लागेको चिकित्सकहरूले बताएका छन्।

शिक्षक आन्दोलन जारी रहँदा आपसी विवाद र हिंसात्मक गतिविधि देखिनु चिंता र सरोकारको विषय बनेको छ।

२०८२ बैशाख १३, शनिबार १८:०१ प्रकाशित
ट्रेन्डिङ समाचार