लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले घुस लिएको खुलासा


काठमाडौं । लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले अर्बौं रुपियाँ ठेक्का दिलाएबापत विभिन्न ठेकेदार कम्पनीबाट करोडौं रुपियाँ उठाएर भक्तपुरमा जग्गा खरिद गरेको पुष्टि भएको छ।

ठेकेदार कम्पनीले पनि घुस रकम कर्मचारीको खातामा नपठाई मिलेमतो गरी भक्तपुरमा जग्गा बिक्रेताको खातामा पठाइदिएको र सो पैसाबाट इन्जिनियर भट्टराईले आमा जनक नन्दनीको नाममा १ करोड ८० लाख मूल्य बराबरको जग्गा खरिद गरेको पाइएपछि अख्तियारले भ्रष्टाचारको रकम जग्गामा रूपान्तरण गरी भ्रष्टाचारको रकमलाई शुद्धीकरण गर्न खोजेको भन्दै निज भट्टराईविरुद्ध पहिलोपटक सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको अनुसन्धानबाट भट्टराईले आमाको नाममा भक्तपुर सूर्यविनायक नगरपालिका–७ स्थित कित्ता नम्बर १३७४ र १३७५ को क्षेत्रफल क्रमशः २–९–०–१ र ०–२–१–० क्षेत्रफलको जग्गा खरिद गरेको पाइएको हो ।

भट्टराईलाई जग्गा खरिदका लागि लुम्बिनी विकास कोषबाट विभिन्न ठेक्का लिएका विभिन्न निर्माण कम्पनीबाट सिधै जग्गावाला आइते तामाङको नाममा पठाइदिएका थिए । जसअनुसार काबुल निर्माण सेवाले २०७९ साल वैशाख २२ गते १० लाख रुपियाँ पठाएको खुलेको छ ।

राष्ट्रिय दैनिक समाचारपत्रबाट

 

२०८१ आश्विन १, मंगलवार ०९:४६ प्रकाशित
ट्रेन्डिङ समाचार