काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्बाट प्रभावितको उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारसँग पर्याप्त स्रोत रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि उनले विश्व बैंकबाट करिब २५ अर्ब रुपैयाँ बराबरको सहायता सुनिश्चित भएको जानकारी दिए। चीन, भारत, जापान, एडीबी र आईएफआरसीबाट पनि सहयोगको प्रतिबद्धता आएको उनले बताए।
सरकारले चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ छुट्याएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ रहेको उनले बताए।
वाग्लेले २०७२ सालको भूकम्पपछिको अनुभवलाई आधार बनाएर वैज्ञानिक अध्ययनका आधारमा पुनर्निर्माणको महाअभियान अघि बढाइने बताए।
२०८३ भाद्र ११, बिहीबार ११:५२ प्रकाशित


