काठमाडौं । रसुवागढी–केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोबारे नेपाललाई पूर्वसूचना नदिएको भन्ने आरोप चीनले अस्वीकार गरेको छ।
नेपालस्थित चिनियाँ दूतावासले उक्त आरोपलाई ‘फेक न्युज’ भन्दै पूर्णतः असत्य र भ्रामक भएको जनाएको हो। चीनले पूर्वचेतावनी नदिएका कारण नेपालमा ठूलो मानवीय क्षति भएको र चीनतर्फको विपद् बाँध भत्किँदा नेपालमा क्षति पुगेको भन्ने दुवै दाबी गलत रहेको दूतावासको भनाइ छ।
दूतावासका अनुसार २६ अगस्ट बिहान नेपालतर्फ भूकम्प वा भूकम्पजस्तो झड्कासहित हिमपहिरो गएको थियो। त्यसपछि आएको ठूलो पहिरोका कारण नेपाल र चीन दुवैतर्फ जनधनको क्षति तथा मानिस बेपत्ता भएको चीनले जनाएको छ।
विपद्को समयमा आरोप–प्रत्यारोपभन्दा उद्धार र राहतमा सहकार्य आवश्यक रहेको भन्दै दूतावासले दुई देश मिलेर प्रभावितको उद्धारमा जुट्नुपर्नेमा जोड दिएको छ।
२०८३ भाद्र ११, बिहीबार १०:४९ प्रकाशित


