देउवा–खड्काको पूरक निवेदन दर्ता, महाधिवेशन प्रक्रिया रोक्न माग


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै पूरक निवेदन दर्ता गरेका छन्।

देउवाको वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र खड्काको वारेसका रूपमा अधिवक्ता श्रवणकुमारले सोमबार पूरक निवेदन पेस गरेका हुन्।

निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा अघि बढाएको महाधिवेशन प्रक्रिया रोक्न माग गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार निवेदन दर्ता भएको छ भने यसको सुनुवाइ ११ गतेका लागि तोकिएको छ।

कांग्रेसको आधिकारिकता तथा नेतृत्व अद्यावधिकसम्बन्धी विवादमा सर्वोच्च अदालतले सुरुदेखिकै सुनुवाइ गर्न अनुमति दिएको थियो। त्यसपछि पनि एकलौटी रूपमा महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै इतर समूहले त्यसलाई रोक्न सर्वोच्चमा निवेदन दर्ता गराएको हो।

२०८३ भाद्र ९, मंगलवार १२:४९ प्रकाशित
ट्रेन्डिङ समाचार