जनकपुरधाम । आर्थिक मन्दी, तरलता अभाव तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुँदा मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ९३८ उद्योग तथा व्यवसाय बन्द भएका छन्।
मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार सो अवधिमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ एक हजार ११७ उद्योग तथा व्यवसायको लगत कट्टा भएको हो।
यद्यपि, गत आवमा प्रदेशमा पाँच हजार ६८ नयाँ उद्योग दर्ता भएका छन्। सबैभन्दा बढी पर्सामा एक हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ नयाँ उद्योग दर्ता भएका छन्। सोही अवधिमा सात हजार ५४० उद्योग नवीकरण भएका छन्।
वाणिज्यतर्फ प्राइभेट फर्मका छ हजार १२२ र साझेदारी फर्मका १८ नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ फर्म नवीकरण भएका छन्।
नयाँ उद्योग तथा वाणिज्य दर्ता र नवीकरणलगायतबाट प्रदेश सरकारले पाँच करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ।
मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पूँजीको अभाव तथा स्थानीय तहमा समेत उद्योग दर्ता गर्ने क्रम बढ्नुले प्रदेशमा उद्योगको लगत कट्टा हुने संख्या बढेको हो।


