लगानीमैत्री वातावरण नबने पुँजी पलायनको जोखिम


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक नीति कागजमा राम्रो भए पनि कार्यान्वयनमा कर्मचारीतन्त्रका कारण जटिलता देखिने गरेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच आइतबार आयोजित समझदारीपत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले कानुन बनेपछि नियमावली र कार्यविधिका नाममा त्यसको मर्म कमजोर पार्ने प्रवृत्ति रहेको आरोप लगाउनुभयो ।

नेपालमा प्राकृतिक स्रोत र सम्भावना प्रशस्त भए पनि प्रभावकारी नीति कार्यान्वयन हुन नसक्दा मुलुकले अपेक्षित आर्थिक गति लिन नसकेको उहाँको भनाइ छ । कानुनी सुधार मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो ।

अग्रवालले लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत बाहिरिन सक्ने चेतावनी दिँदै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

चेम्बर र एनआरएनएबीच भएको समझदारीअनुसार विश्वभर रहेका नेपालीको पुँजी, ज्ञान, सीप र प्रविधिलाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने उहाँले बताउनुभयो । दुवै संस्थाले नेपालको आर्थिक विकास र समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

२०८३ भाद्र ७, आईतवार १९:५७ प्रकाशित
ट्रेन्डिङ समाचार