काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रियामा बोल्दै ज्ञवालीले सरकार गठन भएको पछिल्लो पाँच महिनाका गतिविधिले अधिनायकवादी लक्षण देखाएको दाबी गर्नुभयो।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्रियता र नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक खुलापन गम्भीर सङ्कटमा परेको बताउनुभयो। सरकारको स्वेच्छाचारिता रोक्ने बलियो राजनीतिक विकल्प संसदभित्र नरहेको उहाँको भनाइ छ।
झन्डै दुईतिहाइ जनादेश प्राप्त सरकारसँग संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने सम्भावना रहेको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गर्नुभयो। राष्ट्रपति, संसद, न्यायालय, राजनीतिक दल र सञ्चारमाध्यमजस्ता संस्थालाई समेत सरकारले किनारामा पार्दै गएको उहाँको आरोप थियो।
प्रतिनिधिसभामा संविधान निर्माण गर्ने पक्षधर शक्तिको उपस्थिति कमजोर रहेकाले आगामी दिनमा लोकतान्त्रिक उपलब्धि जोगाउन चुनौती थपिएको ज्ञवालीले बताउनुभयो।


