क्युबामाथि अमेरिकाको थप आर्थिक प्रतिबन्ध


काठमाडौं । अमेरिकाले क्युबामाथि थप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा सरकारका अधिकारी तथा कम्पनीलाई लक्षित गर्दै प्रतिबन्धको नयाँ चरण घोषणा गरेका हुन्।

नयाँ प्रतिबन्धमा क्युबा सरकारको स्वामित्वमा रहेका खानी, धातु तथा निर्माण क्षेत्रका नौ कम्पनी, क्युबाको निर्माण मन्त्रालय तथा क्युबास्थित एक अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित अधिकारीहरू परेका छन्।

रुबियोले प्रतिबन्धमा परेकाहरूले क्युबाली सरकारसँग सम्बन्ध विस्तार गर्दै अमेरिका विरोधी गतिविधिलाई सहयोग गरेको आरोप लगाएका छन्। अमेरिकाले क्युबाली इन्स्टिच्युट अफ फ्रेन्डसिप विथ द पिपल्स (आईक्याप) का नेतृत्वमाथि पनि प्रतिबन्ध लगाएको छ।

क्युबाले भने अमेरिकी प्रतिबन्धको विरोध गर्दै आएको छ। क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगेजले पछिल्लो प्रतिबन्धले देशको अर्थतन्त्रमा थप क्षति पुग्ने बताएका छन्।

यसैबीच, अमेरिकी प्रतिबन्ध र तेल आपूर्ति अवरोधका कारण क्युबाको ऊर्जा संकट गहिरिँदै गएको छ। इन्धन अभाव र पुरानो विद्युत् पूर्वाधारका कारण लामो समयसम्म विद्युत् कटौती हुँदा अस्पताललगायत अत्यावश्यक सेवासमेत प्रभावित बनेका छन्।

२०८३ भाद्र ५, शुक्रबार १०:०६ प्रकाशित
ट्रेन्डिङ समाचार