कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा रिट


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ।

महाराजगञ्जमा तीन दिनसम्म बसेको इतर समूहका शीर्ष नेताहरूको बैठकले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि नबढाउन माग गर्ने निर्णय गरेको हो।

इतर समूहका नेता एनपी साउद र प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समेत महाधिवेशन रोक्न माग गर्दै छुट्टाछुट्टै रिट दायर गर्नेछन्।

कांग्रेस निर्वाचन समितिले मंगलबार १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जनाएको छ। कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी छ।

२०८३ भाद्र ५, शुक्रबार ११:२७ प्रकाशित
ट्रेन्डिङ समाचार