मोदीको सम्बोधन : ‘विकसित भारत’ निर्माणमा जोड


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीस्थित लालकिल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य दोहोर्‍याएका छन्।

सम्बोधनअघि मोदीले जल, थल, वायु सेना र दिल्ली प्रहरीका जवान सम्मिलित गार्ड अफ अनरको सलामी लिए। राष्ट्रिय ध्वजारोहणपछि स्वदेशी १०५ एमएम लाइट फिल्ड गनबाट २१ तोपको सलामी दिइएको थियो। उनले लालकिल्ला पुग्नुअघि राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रधानमन्त्री मोदीले विगत १२ वर्षमा भारतले उत्पादन, रक्षा, मोबाइल फोन, डिजिटल कारोबार, पेटेन्ट, रेलवे, ऊर्जा र स्टार्टअप क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दाबी गरे। २५ करोड नागरिक गरिबीबाट बाहिर निस्किएको उल्लेख गर्दै उनले ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’ अभियानलाई थप गति दिने बताए।

उनले नक्सलवाद र माओवादी हिंसा अन्तिम चरणमा पुगेको दाबी गर्दै ‘दिमागी नक्सलवाद’ विरुद्ध पनि सचेत रहन आग्रह गरे। हिंसाले देशका युवाको भविष्य र अभिभावकका सपना ध्वस्त पारेको उनको भनाइ थियो।

प्रविधि र ऊर्जा सुरक्षामा जोड दिँदै मोदीले भारतमा तीन सेमिकन्डक्टर प्लान्ट सञ्चालनमा आइसकेको र आगामी वर्षहरूमा थप प्लान्ट स्थापना हुने बताए। सौर्य ऊर्जा क्षमता १६० गिगावाट पुगेको तथा रेलवे विद्युतीकरण पूर्ण भएको दाबी गर्दै उनले भारतले पहिलो हाइड्रोजन ट्रेनसमेत सञ्चालनमा ल्याएको जानकारी दिए।

कोरोना महामारी तथा रूस–युक्रेन र पश्चिम एसिया द्वन्द्वका बाबजुद भारतमा खाद्यान्न, इन्धन र मलको अभाव हुन नदिएको उनले बताए। उत्पादनको गुणस्तर सुधार, जैविक खेती, खाद्य प्रशोधन र युवालाई केन्द्रमा राखेर रोजगारी तथा उद्यमशीलता बढाउने सरकारको नीति रहेको उनले स्पष्ट पारे।

सम्बोधनको अन्त्यमा मोदीले संसद र विधानसभामा महिलाका लागि ३३ प्रतिशत आरक्षण लागू गर्न सबै राजनीतिक दललाई एकजुट हुन आह्वान गर्दै ‘शक्तिको सप्तधारा’ मार्फत विकसित भारत निर्माणको खाका अघि सारे।

२०८३ श्रावण ३०, शनिबार १३:०५ प्रकाशित
ट्रेन्डिङ समाचार