आईजीपी कार्कीले सभामुखलाई सुनारको व्यवहारबारे जानकारी गराए


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक लेखा समितिको बैठकमा रास्वपाका सांसद खगेन्द्र सुनारले आफूमाथि गरेको व्यवहारबारे सभामुख डोलप्रसाद अर्याललाई जानकारी गराएका छन्।

शुक्रबार सिंहदरबार पुगेर सभामुख अर्यालसँग भेटेका कार्कीले सांसद सुनारको प्रस्तुतिले आफू मात्र नभई सिंगो प्रहरी संगठन अपमानित भएको गुनासो गरेका थिए।

जवाफमा सभामुख अर्यालले घटनाबारे लेखा समितिका सभापति, सचिव र संसद्का महासचिवसँग जानकारी लिइसकेको बताउँदै विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले आईजीपी कार्कीलाई उच्च मनोबलका साथ कर्तव्य निर्वाह गर्न आग्रह गर्दै संसद्को साथ रहने बताएका छन्।

बुधबार लेखा समितिको बैठकमा सांसद सुनारले प्रहरीका जुत्ता, मोजा, कपडालगायत सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै आईजीपी कार्कीमाथि समेत छानबिनको माग गरेका थिए। यसै विषयमा गृहमन्त्री सुधन गुरुङले पनि आरोपका भरमा कसैको चरित्र हत्या गर्न नमिल्ने भन्दै असन्तुष्टि जनाएका छन्।

२०८३ श्रावण २९, शुक्रबार १८:५८ प्रकाशित
ट्रेन्डिङ समाचार