विधानविपरीतका कामले कांग्रेसलाई हित गर्दैन : सिटौला


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र लोकतान्त्रिक पद्धतिविपरीत हुने कुनै पनि कार्यले संगठनलाई हित नगर्ने बताएका छन्।

संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले निर्वाचन आयोगको भूमिका, संविधान कार्यान्वयन र पार्टीको आन्तरिक विवादबारे टिप्पणी गरे। उनले वर्तमान संविधानले शान्ति, लोकतन्त्र, समृद्धि र स्वाधीनताको परिकल्पना गरेको उल्लेख गर्दै संविधानलाई आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताए।

लोकतान्त्रिक समाजवादको सिद्धान्तअनुसार राज्यले विपन्न वर्गको दायित्व लिनुपर्नेमा जोड दिँदै उनले संविधान गतिशील दस्तावेज भएको बताए।

पार्टीको आधिकारिक नेतृत्व र कार्यसमितिलाई जानकारी नै नदिई विशेष महाधिवेशनलाई मान्यता दिएको भन्दै उनले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाए। पक्ष र विपक्षको कुरा नसुनी तथा आधिकारिक अभिलेख नहेरी आयोगले निर्णय गर्नुले निष्पक्षतामाथि प्रश्न उठाएको उनको भनाइ थियो।

सिटौलाले सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय पुनरावलोकनको बाटो खोलेको भन्दै यसलाई गल्ती सच्याउने अवसरका रूपमा लिनुपर्ने बताए। हठ र अहंकारले सही गन्तव्य तय गर्न नसकिने उल्लेख गर्दै उनले सर्वोच्च अदालतको पूर्ण इजलासबाट कांग्रेसले न्याय पाउने विश्वास व्यक्त गरे।

२०८३ श्रावण २९, शुक्रबार १८:५४ प्रकाशित
ट्रेन्डिङ समाचार