काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेताहरूले लोकतन्त्र सुदृढीकरण र राष्ट्रिय चुनौती समाधानका लागि पार्टी एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा शुक्रबारदेखि सुरु भएको तीनदिने राष्ट्रिय भेलाको उद्घाटन समारोहमा बोल्दै नेताहरूले पार्टीभित्रको विवाद समाधान गर्दै सबैलाई समेटेर १५औँ नियमित महाधिवेशन गर्नुपर्ने बताएका हुन्।

पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महतले असामान्य परिस्थितिमा विशेष महाधिवेशन भएको उल्लेख गर्दै निर्वाचनको परिणाम अनपेक्षित आएको बताए। उनले सर्वोच्च अदालतबाट सिंगो पार्टीलाई न्याय हुने अपेक्षा व्यक्त गरे।
पूर्वमन्त्री एनपी साउद, रमेश लेखक, महालक्ष्मी उपाध्याय ‘डिना’, वीरबहादुर बलायर, मोहन बस्नेतलगायतका नेताहरूले पार्टीलाई बलियो बनाउन वरिष्ठ नेताहरूको योगदान र सुझावलाई सम्मान गर्नुपर्ने धारणा राखे।
भेलामा सहभागी नेताहरूले सबै पक्षलाई समेटेर १५औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार उद्घाटन भएको भेलाको बन्दसत्र शनिबार र आइतबार सञ्चालन हुने प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए।
धेरै सङ्ख्यामा वक्ताहरू रहेको र सबैका कुरा सुन्नुपर्ने भएकाले कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन यस्तो नियम बनाइएको आयोजकले जनाएका छन्। ‘प्रत्येक वक्तालाई ३ मिनेटको समय दिइएको छ, समय सकिए लगत्तै संसद्को अभ्यासमा झैँ माइक स्वतः काटिनेछ,’ विश्वकर्माले कार्यक्रममा जानकारी दिए ।
। नेपाली कांग्रेसको (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला समूह) द्वारा आयोजित राष्ट्रिय भेलामा निवर्तमान सभापति शेरबहादुर देउवाको प्रतिक्षा भइरहेको छ। कार्यक्रममा सहभागी अन्य अधिकांश नेताहरूको शपथ ग्रहण सम्पन्न भइसके पनि प्रमुख अतिथिको रूपमा देउवा आइनपुग्दा कार्यक्रमको औपचारिक सुरुवातमै ढिलाइ गरिएको छ ।
अहिले मञ्चमा छिटफुट नेताहरूको आसन ग्रहण गराउने कार्य कार्यक्रम सञ्चालक मीन विश्वकर्माले गरिरहेका छन् । मञ्चको ठ्याक्कै बिचमा देउवा बस्नका लागि कुर्सी खाली राखिएको छ। नेताहरूका अनुसार देउवाको प्रमुख आतिथ्यमा भेलाको उद्घाटन र सम्बोधन हुने कार्यक्रम तय गरिएको छ। देउवाको आगमनसँगै भेलाले औपचारिकता पाउने सहभागीहरूले बताएका छन्।


